सेब र हिमरश्मिलाई बास्केटबल उपाधि



काठमाडौं ।

सेब र हिमरश्मिले सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत बास्केटबल प्रतियोगितातर्फ उपाधि शनिबार जितेका छन्।

सेब ब्वाइज तथा हिमरश्मि गर्ल्स च्याम्पियन बने। डाँडागाउँस्थित हिमरश्मिको कोर्टमा भएको ब्वाइज फाइनलमा सेबले एन्जल्स हार्टलाई ४७–२३ ले जित्दा सेबका लागि विप्लव गुरुङले १८ अंक योगदान गरे।

अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स)द्वारा आयोजित प्रतियोगिताको गर्ल्सको उपाधि भिडन्तमा खुशी अधिकारीको ६ अंक सहयोगमा हिमरश्मिले फेरिल्यान्डलाई १४–१० ले हरायो।

हिमरश्मिले ८–० ले पछि परेको स्थितिलाई उल्ट्याउँदै उपाधि जितेको हो। चौथो क्वार्टरमा १०–१० को बराबरी स्थितिमा पुग्दा सिर्जना तामाङ र निमा तामाङले २/२ अंक जोड्दै हिमरश्मिका लागि उपाधि सुनिश्चित गरेका थिए। ब्वाइजमा १३ तथा गर्ल्समा ९ टिम सहभागी थिए।

ब्याडमिन्टनमा हिमरश्मिको क्लिन स्विप

हिमरश्मिले सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत ब्याडमिन्टनको स्वर्णमा क्लिन स्विप गरेको छ। तीन स्पर्धा समावेश ब्याडमिन्टनमा हिमरश्मिले तीनैमा उपाधि जितेको हो।

मनमैजुस्थित जि४ स्पोर्ट्स एकेडेमीमा भएको ब्वाइज सिंगल्स फाइनलमा सिद्धान्तराज लम्सालले कौशलका गगन घलेलाई २१–१३ र २१–१४ को सोझो सेटमा पराजित गरे । विभूतिका संविधान चौधरी र श्रृजना ज्ञान सागरका कल्याण तामाङ तेश्रो भए।

गर्ल्स सिंगल्सको फाइनलमा उपासना बोहराले ज्ञान मन्दिरकी विविशा शाह ठकुरीलाई सीधा सेटमा २१–१ र २१–४ ले सहजै हराइन् । कौशलकी श्रृष्टि बुढाथोकी र पुष्पकुञ्जकी मनिका गुरुङ तेश्रो बने।

मिक्स डबल्समा कुशल गौतम र प्रतिक्षा गौतमको जोडी विजेता बने। उक्त जोडीले फाइनलमा न्युटनका विवेक भण्डारी र फुरा मिङमा शेर्पाको जोडीमाथि २१–१२ र २१–१५ को जित दर्ता गरे।

कौशलका विपल थापा र युनिशा मल्ल तथा ज्ञान मन्दिरका आयुब मोक्तान र तनुश्री ओलीको जोडीले तेश्रो स्थानमा रहे। विभिन्न ९ विद्यालयका ३६ खेलाडी सहभागी थिए।

टेबलटेनिस : श्रृजना ज्ञान सागरलाई तीनै स्वर्ण

श्रृजना ज्ञान सागरले सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत टेबलटेनिस प्रतियोगितामा समावेश तीनै स्पर्धाको स्वर्ण जितेको छ।

शेषमति सानो पुलस्थित श्रृजना ज्ञान सागरमा भएको प्रतियोगिताको ब्वाइज सिंगल्स फाइनलमा सन्तोष थापाले प्रगतिका उदिप तामाङलाई ११–६, ११–६ र ११–१ को सोझो सेटमा पराजित गरे । कौशलका निशान बुढाथोकी र सेबका रोशन पौडेल तेश्रो भए।

गर्ल्स सिंगल्सको फाइनलमा विपिना थापाले हिमरश्मिकी अञ्जली गुरुङलाई सीधा सेटमा ११–३, ११–४ र ११–५ ले हराइन्। सेबकी रचेल थापा मगर र प्रगतिकी गंगा मगर तेश्रो बने।

मिक्स डबल्समा सुप्रिया बोगटी र आकाश सिलवालको जोडी पहिलो, प्रगतिका युजिना गुरुङ र सुप्रिम सिलवालको जोडी दोश्रो तथा कौशलका तारा तामाङ र अतित श्रेष्ठ/हिमरश्मिका अञ्जली बानियाँ र आदर्श थिङको जोडी तेश्रो भए।

आइतबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्वाइज फुटबल र एथलेटिक्सको प्रतिस्पर्धा सुरु हुनेछ। गर्ल्स फुटबल भने सम्पन्न भइसकेको छ। गर्ल्स फुटबलमा हिमरश्मि च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्