सम्झनामा नेपालका महम्मद रफी योगेश वैद्य



काठमाडौं ।

कालजयी गीतका मिठासपूर्ण स्वरदाता तथा साहित्य र संगीत दुवै पक्षका कर्मशील साधक योगेश वैद्य अब हामीबीच रहेनन्।

लामो समयदेखि मधुमेहसँग जुध्दै आएका र केही वर्षअघि मृगौला प्रत्यारोपण गरेर सक्रिय जीवन बिताउँदै आएका ७७ वर्षीय गायक तथा संगीतकार वैद्यले बिहीबार राति साढे १२ बजे राजधानीको सुन्धारास्थित भ्याली अस्पतालमा अन्तिम श्वास फेरे।

वैद्यको शुक्रबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। संगीत तथा साहित्य साधक वैद्यले २० को दशकदेखि नै सिर्जनशील छवि निर्माण गरेर नेपाली गीत–संगीतमा बलियो र लोभलाग्दो परिचय स्थापित गरेका छन्।

उनका चार सय ५० भन्दा बढी गीत रेकर्ड भएका छन् भने ५० गीतमा संगीत दिएका छन्। यसका साथमा उनका आधा दर्जन साहित्यिक र प्राविधिक पुस्तक प्रकाशित छन्।

केहीअघि मृगौलाले काम गर्न छोडेपछि स्वास्थ्य समस्या व्यहोरेका उनी प्रत्यारोपणपश्चात् पनि उत्तिकै क्रियाशील र दमदार रूपमा प्रस्तुत हु“दै आएका थिए।

ख्यातिप्राप्त भारतीय गायक महम्द रफीका गीत सुन्दै संगीत क्षेत्रमा प्रवेश गरेका उनले केही समयपछि नै नेपालका महम्मद रफीको ट्याग पाएका थिए।

रेडियो सुनेरै थालेका थिए गाउन

इन्दिरानन्द वैद्य र रुक्मिणी वैद्यका ज्येष्ठ सुपुत्रका रूपमा २००३ साल आषाढ २४ गते काठमाडौंको नरदेवीमा जन्मेका उनलाई त्यहाँ हुने सांस्कृतिक पर्व र जात्राका गीत–संगीतले सांगीतिक क्षेत्रमा लाग्न प्रोत्साहित गर्‍यो।

२०१६ सालमा शान्ति निकुञ्ज स्कुलबाट एसएलसी उत्तीर्ण गरेका वैद्यले अस्कलबाट आईएस्सी, त्रिचन्द्र कलेजबाट बीएस्सी र त्रिभुवन विश्वविद्यालयबाट वनस्पति शास्त्रमा एमएस्सीसम्मको अध्ययन गरेपछि बेल्जियमको गेन्टको राज्य विश्वविद्यालयबाट खाद्य र पोषण विज्ञानमा स्नातकोत्तर गरेका थिए।

नौ/दश वर्षको उमेरदेखि नै रेडियो सुन्न थालेका उनले यसैलाई पछ्याउँदै गीत गुनगुनाउन शुरु गरे। त्यही रुचिले उनलाई गायन र संगीत यात्रामा अगाडि बढाइदियो र स्थापित पनि बनाइदियो।

उनको गीत गाउने कलाबाट प्रभावित भएका उनका गुरु अष्टमंगल बज्राचार्यले वैद्यलाई संगीत प्रवीण नरराज ढकालकहाँ पुर्‍याएपछि उनले एक वर्षसम्म संगीतको अध्ययन गरेर आफूलाई अझै निखारे।

हिन्दी गीत सुन्दासुन्दै गायनको क्षेत्रमा उत्रिएका यी सांगीतिक योद्धाको स्वर माधुर्यतालाई हेरेर नेपाली महम्मद रफीको संज्ञा दिइएको थियो।

२०१२ सालमा स्कुलले तयार गरेको युगकवि सिद्धिचरण श्रेष्ठको शब्द रचनाको प्रार्थना गीत पुरुष नारी दिवस रजनी साथ नै युग भर्दछन्मा उनले प्रमुख गायकका रूपमा तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउइनका सामु गीत गाउने अवसर प्राप्त गरे।

गायक वैद्यले आफ्नो शब्द रचना र लयमा गाएको पहिलो गीत नेपालभाषाको थियो। उनले आफ्नै शब्द र संगीतमा व वै तिनी अनुरागया स्वाँ ह्वैतिनी बोलको गीत तयार पारेका थिए। २०१८ सालसम्ममा वैद्य टोल समाजमा गायकका रूपमा परिचित भइसकेका थिए।

त्यही ताका वैद्य र गायक प्रेमध्वज प्रधानलाई टेङ्गालको गणेशस्थानमा आयोजित सांगीतिक कार्यक्रमले नजिक बनायो। त्यसपछि वैद्य र प्रधान सहयात्री जस्तै भए।

सार्वजनिकरूपमा रेडियो नेपाल, राष्ट्रिय नाचघर लगायतका स्थानमा हुने कार्यक्रममा यी दुई कहिल्यै छुटेनन्। २०२२ सालमा महिला आन्दोलनको सिलसिलामा तयार गरिएको गीतिनाटकका लागि रत्नशमशेर थापाद्वारा रचित र हुतराज शर्माको संगीतमा उनले अपमान गरी भरि सभाम नारीको उपहास बोलको गीत गाएका थिए।

त्यहीताका जीवन दबू नामको नेपालभाषाको रेडियो कार्यक्रमका लागि उनले झन्डै एक दर्जन लोक र आधुनिक गीत रेकर्ड गराएका थिए। तर, दुःखको कुरा सरकारले त्यो कार्यक्रमलाई निषेध गर्‍यो र उचित संरक्षण नपाएर ती गीतहरू प्रायः नष्ट हुन पुगे।

रेडियोमा पाए भव्य स्वागत

वैद्यको गायकीले यति लोकप्रियता पाएको थियो कि २०२४ सालमा वरिष्ठ गायक इन्द्रनारायण मानन्धर मोटरसाइकल लिएर वैद्यलाई लिन घरमै पुगे।

उनको मोटरसाइकलमा चढेर रेडियो नेपाल पुग्दा रेडियो नेपालका निर्देशकदेखि त्यस बेलाका थुप्रै चर्चित गीतकार, संगीतकार र गायकका बिट रेडियो नेपालको भव्य स्वागतपछि उनले रेडियोको स्टुडियोमा दुई दर्जनजति गीत गाए।

गीत–संगीत क्षेत्रमै रमाउनका लागि जन्मिएका गायक वैद्यको २०२५ सालमा रत्न रेकर्डिङ संस्थानमा पहिलो गीतको रेकर्डिङ भयो।

किरण खरेलको रचना र नातिकाजीको संगीतमा कति प्यासी छ जिन्दगी विधुवाको सिउँदो जस्तो बोलको सो गीत तत्कालीन रत्न रेकर्डिङ संस्थानमा रेकर्ड गरेपछि उनको गायन करियर अगाडि बढ्दै गएको थियो। रत्न रेकर्डिङका लागि डिस्क रेकर्डमा निस्किएको त्यो नै पहिलो गीत थियो।

सपना भुलाई साराले दिलायो पहिचान

योगेशको सांगीतिक यात्राको मध्यावधिमा रेडियो नेपालले प्रसारणमा ल्याएको नातिकाजीको संगीत, शिव अधिकारीको शब्द रचनाको सपना भुलाई सारा गीतबाट उनले अपार माया पाए।

यो गीत अजम्बरी सदावहार गीत सावित भएको छ। उनको निधनपछि उनीप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्दै गायक गायिका तथा संगीतकारले संयुक्तरूपमा यही गीत गाएर उनलाई बिदा गरे। सामाजिक सञ्जालमा पनि धेरैलाई उनलाई यही गीतबाट सम्झिए।

लेखक वैज्ञानिकदेखि सहसचिवसम्म थिए वैद्य

गायक वैद्य कुशल लेखक, कवि र गीत रचनाकारसमेत हुन्। उनको पहिलो कविता नियतिको प्रहार २०२५ सालमा गोरखापत्रमा प्रकाशित भएको थियोे। उनले कोमल अनुभूतिलाई समय प्रवाहमा छुटेका पलहरू गीति कविता संग्रहमा समेत संगालेका छन्।

वैद्य २०२८ सालमा लोकसेवा परीक्षा पास गरी नेपाल सरकारको कृषि मन्त्रालयको केन्द्रीय खाद्य अनुसन्धानशालामा विशेषज्ञका रूपमा नियुक्त भएका थिए। ३३ वर्षको सरकारी सेवामा प्राविधिज्ञ पदमा रहेर सेवा गरेका उनले आठौं योजनाको खाद्य पोषण नीति निर्माणमा प्राविधिक टोलीमा विशेषज्ञका रूपमा संलग्न रही कार्य गरेका थिए।

पोषण विषेशज्ञको रूपमा अन्तर्राष्ट्रियस्तरमा पोषण नीति निर्माणमा राष्ट्रियस्तरमा प्रतिनिधित्व गरेका गायक वैद्यले विश्व खाद्य तथा कृषि संगठनमा राष्ट्रिय पोषण सल्लाहकारको रूपमा संलग्न रही अन्तर्राष्ट्रियस्तरको विश्व स्वास्थ्य संघ, युनिसेफ र नेपाल सरकारको संयुक्त पोषण परियोजनाको कृषि क्षेत्रको प्रमुखको हैसियतले कार्य सम्पादनसमेत गरेका थिए।

विश्व खाद्य संगठन एसिया तथा प्यासिफिक क्षेत्रको खाद्य पोषण परामर्श दातृ समूहमा कार्यकारी सदस्यको हैसियतमा नेपालको प्रतिनिधित्व गरेका योगेशले सरकारी सेवाको पदोन्नतिका क्रममा वन मन्त्रालयमा सहसचिव स्तरमा कार्यरत रहँदा वनस्पति स्रोत अनुसन्धान तथा विकासको योजनाकारका रूपमा सेवा प्रदान गरेका थिए।

२०६१ सालमा प्राविधिक स्तरको सहसचिव पदबाट अवकाश प्राप्त गरेका वैद्य जागिरे जीवनमा समेत गीत–संगीतमा उत्तिकै सक्रिय रहेका थिए।

प्रतिक्रिया दिनुहोस्