प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुँदै



काठमाडौं ।

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन्। आज भैरहवा क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुँदै छ भने अर्को खेल मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र कोशी प्रदेशबीच हुँदै छ।

अहिलेसम्म पीएम कपको अङ्कतालिकामा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब मात्र अपराजित रहेका छन् । सुदूरपश्चिमले आफ्ना तिनै खेल जितेर ६ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै नेपाल पुलिस क्लबले आफ्ना दुवै खेल जितेर ४ अङ्कसहित अङ्क तालिकामा चौथो स्थानमा रहेको छ।

त्यस्तै बागमती प्रदेशले ५ खेलमा ३ खेल जितेर ६ अङ्कसहित दोस्रो स्थानमा छ भने मधेश प्रदेशले ५ खेलमा ३ जितसहित ६ अङ्क हासिल गरेर तेस्रो स्थानमा छ । त्यस्तै त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले आफ्ना ३-३ खेलमा २-२ खेल जितेर ४-४ अङ्कसहित पाँचौँ र छैटौँ स्थानमा रहेका छन् ।

त्यस्तै कर्णाली प्रदेश ४ अङ्कसहित सातौँ स्थानमा छ भने लुम्बिनी प्रदेशले आफ्ना ३ खेलमा एक जित र २ हार बेहोरेको छ र आठौँ स्थानमा छ।

त्यसैगरी गण्डकी र कोशी प्रदेशले अहिलेसम्म जित हासिल गर्न सकेका छैनन्। गण्डकीले अहिलेसम्म खेलेका आफ्ना तिनै खेलमा हार बेहोरेको छ भने कोशी प्रदेशले खेलेका पाँचै खेलमा हार बेहोरेको छ।

प्रतिक्रिया दिनुहोस्