धनेश्वर र चण्डेश्वरीको दर्शन गर्न हिमानी शाह बनेपामा



बनेपा,काभ्रे। 

पूर्व युवराज्ञी एवं हिमानी ट्रस्टकी अध्यक्ष हिमानी राज्यलक्ष्मी देवी शाहलाई काभ्रेपलान्चोक जिल्लाको साँगादेखि मोटरसाइकल ¥याली सहित स्वागत गरिएको छ । उपत्यकासँग जोडिएको साँगाबाट बनेपाको धनेश्वरसम्म राजतन्त्र र राजा तथा हिमानी समर्थक युवाहरुले स्वागत गरेका हुन् ।

धनेश्वर आधारभूत विद्यालयमा ट्रस्टको कार्यक्रम आयोजना गरिएको कार्यक्रम मूल समारोह समितिका संयोजक रोशन श्रेष्ठको संयोजकत्वमा गठित समितिले साँगाबाट धनेश्वरसम्म स्वागतका साथै धनेश्वर आधारभूत विद्यालयमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको थियो । ‘हिमानी ट्रस्ट मार्फत धनेश्वर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री उपलब्ध गराइएको छ’–संयोजक रोशन श्रेष्ठले भने–‘धनेश्वरको दर्शनसँगै हिमानी शाह बनेपाको ऐतिहासिक चण्डेश्वरी मन्दिरमा पूजा गर्ने कार्यक्रम तय भएको छ ।’

बन्द भएको विद्यालय पुनः सञ्चालनमा ल्याई एक सय भन्दा धेरै विद्यार्थीहरुलाई निजी विद्यालयको सरह गुणस्तरीय शिक्षा प्रदान गरेको धनेश्वर विद्यालयमा हिमानी शाहले गरेको सहयोगले स्थानीय समुदायलाई समेत विद्यालय प्रति विश्वास बढाउने अध्यक्ष अनिरुद्र थापाले बताए । धनेश्वर मन्दिरको दर्शन, धनेश्वर विद्यालयमा शैक्षिक सामाग्री वितरणपछि हिमानी शाह चण्डेश्वरी पुगेकी हुन् । चण्डेश्वरीको दर्शनसँगै बनेपाका नेपाल सुधार भैलले व्यक्तिगत लगानीमा निर्माण गरेको नारायणको प्रतिमा उद्घाटन गरिएको छ । बनेपाका समाजसेवी तथा युवा राजनीतिज्ञ उदय सिं मुस्याजुले हिमानी शाहको स्वागतका लागि बनेपा तथा आसपासका युवाहरु सहभागी भएको बताए ।

जिल्लाका युवाहरुसँग साक्षात्कार सहित जिल्लाका विभिन्न बस्तु स्थितिका बारेमा हिमानी शाहलाई जानकारी गराइएको र उहाँले जिज्ञासा लिएको युवा समाजसेवी मुस्याजुले बताए ।

धनेश्वरको कार्यक्रम लगत्तै हिमानी शाहलाई राजपरिवार बस्दै आएको जिल्लाको पहिलो रिसोर्ट धुलिखेलको हिमालयन होराईजनमा आतिथ्यता गराइएको थियो । केही समयको विश्रामपछि हिमानी शाह बनेपाको चण्डेश्वरी मन्दिर जाने छिन् । दिउँसो ४ बजे राजधानी फर्कने गरी कार्यक्रम तय भएको आयोजकले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्