कपिलवस्तुमा एमालेको स्कुलिङ , सहभागी कार्यकर्ताको परीक्षा समेत लिइने 



कपिलवस्तु ।

 नेकपा एमाले कपिलवस्तुले जिल्ला तहका नेतालाई प्रशिक्षण दिएको छ । केन्द्रीय स्कुल विभागको सहजीकरणमा जिल्ला सचिवालयलाई ३ दिने प्रशिक्षण प्रदान गरेको छ । होटल संगम प्यालेस गोरुसिंगेमा चल्ने प्रशिक्षण ३ सम्म सञ्चालन हुने छ ।

प्रशिक्षणको उद्घाटन समारोहमा बोल्दै एमाले केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवालीले नेता कार्यकतालाई नयाँ ज्ञान र सिप प्रदान गर्न प्रशिक्षण आयोजना गरिएको बताए । अर्को वर्षदेखि  पार्टीका सबै नेता तथा कार्यकर्तालाई प्रशिक्षण अनिवार्य गर्ने समेत बताए । वडा सदस्यदेखि , प्रतिनिधि सभा सदस्य तथा राजनैतिक नियुक्तिको लागि समेत स्कुलिङ अनिवार्य रहेको बताए । उनले पछिल्ला दिनमा नेता कार्यकतालाई आधारभूत तह, माध्यमिक तह र अनुसन्धानात्मक तहको प्रशिक्षण गरी परीक्षा समेत लिइने बताए ।

नेता ज्ञवालीले अहिलेको सरकार मल्टीपल अर्गान फेलियर भएको बताए । उनले भने  ‘राष्ट्रियतामा एक पछि अर्को चुनौती खडा हुँदै छ । अर्थतन्त्र लथालिङ्ग छ । हरेक गृहिणीलाई थाहा भान्सामा कति पकाउन सकिन्छ? हरेक युवालाई थाहा हिजो रेस्टुरेन्टमा गएर कति खर्च गर्न सकिन्थ्यो ? आज कति खर्च गर्न सकिन्छ । गाडी चढ्नेलाई थाहा छ । फुल टयांक गर्न कति गारो छ ? उद्योग व्यवसाय आधा पनि चलेको छैन ।’उनले  देश लथालिंग भएको टिप्पणी गरे ।

कार्यक्रममा एमाले केन्द्रीय सचिव पद्मा अर्यालले देशको विकासको लागि एमाले बाहेक अन्य विकल्प नरहेको बताएकी थिइन्  ।

कार्यक्रममा एमाले नेता खिमलाल भट्टराई, वृजेश कुमार गुप्त, बलराम अधिकारी, गिरिधारीलाल न्यौपाने, सुशील श्रीवात्सव, सराज अहमद फारुकी, एमाले केन्द्रीय लेखा आयोगका उपाध्यक्ष विष्णु पन्थी लगायतको प्रशिक्षणमा सहभागिता रहेको थियो ।

कार्यक्रममा एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले प्रशिक्षणपछि कार्यकर्तामा नयाँ  उत्साह थपिने विश्वास गरेका छन्  । कार्यक्रमको स्वागत एमाले जिल्ला उपाध्यक्ष विश्राम चौधरी, सञ्चालन सचिव शिवि गहतराजले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्