मधेसमा आज बलिदानी दिवस मनाइँदै, प्रदेश सरकारले दियो सार्वजनिक बिदा



जनकपुरधाम ।

मधेश प्रदेशमा आज छैटौँ बलिदानी दिवस मनाइँदैछ। अन्तरिम संविधानमा सङ्घीयता र समावेशितासहितको व्यवस्था गर्नुपर्ने माग गर्दै भएको पहिलो मधेश आन्दोलनको अवसरमा प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ।

मधेश आन्दोलनका क्रममा २०६३ साल माघ ५ गते आजकै दिन सिरहाको लहानमा स्थानीय रमेश महतोले सहादत दिएको सम्झनामा मधेश केन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसका रूपमा मनाउँछन्।

विसं २०६२/०६३ सालको जनआन्दोलनको सफलतापछि माघ १ गते जारी गरिएको अन्तरिम संविधानमा सङ्घीयता र समावेशिता समावेश नगरेको जनाउँदै तत्कालीन मधेशी जनाधिकार फोरमको नेतृत्वमा आन्दोलन गरिएको थियो।

माघ २ गतेदेखि सुरु भएको सो आन्दोलनका क्रममा माघ ५ गते सिरहाको लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेश महतोको निधन भएको थियो। यसपछि मधेशभर आन्दोलन भएको थियो।

पछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग अन्तरिम संविधान संशोधन गरेर माग सम्बोधन गर्ने सम्झौतापछि पहिलो चरणको २१ दिने आन्दोलन स्थगित भएको थियो। सो आन्दोलनलाई मधेशवादीहरूले मधेश जनविद्रोहको सङ्ज्ञा दिने गरेका छन्।

त्यही जगमा देशमा सङ्घीयता र संविधान आएको जनाउँदै मधेश प्रदेश सरकार गठन भएदेखि नै यहाँ शहीदको सम्झनामा हरेक वर्ष माघ ५ मा बलिदानी दिवस मनाउने गरिएको हो।

त्यसयता विसं २०७४ सम्म पटकपटक भएका मधेश आन्दोलनमा एक सय १७ जनाको ज्यान गएको मधेशवादी दलहरूले दाबी गर्दै आएका छन् तर मधेशी शहीद प्रतिष्ठानसँग ६३ जनाले सहादत प्राप्त गरेको र ७२ जना घाइते भएको तथ्याङ्क छ।

बलिदानी दिवसका अवसरमा प्रदेश सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्