टेरामक्स र एमडीएमएसमा ठूलो अनियमितताको आशंका



काठमाडौं ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले टेरामक्स र एमडीएमएस खरिदका सबै कागजात मगाएको छ।

समितिले ती दुवै खरिद प्रक्रियामा ठूलो घोटाला भएको आशंकासहित निर्णय र खरिद प्रक्रियाका सबै कागजात मागेको हो। यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गर्दै आइरहेको छ।

बिहीबार बसेको समितिको बैठकले एक साताभित्र यससम्बन्धी शुरूदेखिका कागजात उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ। कागजात प्राप्त भएपछि समितिले विज्ञहरूसँग छलफल गर्ने जनाएको छ।

समितिले बिहीबार सञ्चार मन्त्रालयसँग टेरामक्स र एमडिएमएस खरिदका विषयमा छलफल गरेको थियो। सो क्रममा समितिका सदस्यहरूले टेरामक्स र एमडीएमएस प्रक्रियामा ठूलो घोटाला भएको भन्दै यसको गहिरो अनुसन्धान जरुरी रहेको बताएका थिए।

छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले टेरामक्स प्रविधि खरिद प्रक्रियामा संग्लन शुरूदेखिका कर्मचारी र मन्त्रीसमेतलाई छानबिनको दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

उहाँले टेरामक्स प्रविधिको औचित्य नभएकोले यसको कार्यविधि बनाएर अगाडि बढ्ने प्रक्रियालाई निरन्तरता दिन नहुनेमा जोड दिनुभयो।

नेकपा (एमाले) की सांसद ईश्वरी घर्तीमगरले दूरसञ्चार प्राधिकरणको अध्यक्षलाई राजीनामा दिन लगाइएको भन्दै शंका व्यक्त गर्नुभयो।

एनसेलको सेयर खरिद–बिक्री, टेरामक्स प्रविधि र एमडीएमएस प्रणालीको प्रविधि खरिदमालगायतमा विवाद देखिएपछि प्राधिकरणको अध्यक्षलाई राजीनामा गर्न लगाइएको हुन सक्ने उहाँको आशंका थियो।

समितिकी सदस्य विद्या भट्टराईले सञ्चार मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई देखाएर आफू उम्कन नसक्ने बताउनुभयो।

नीति निर्माण गर्नु पहिले टेरामक्सजस्ता प्रविधि ल्याउन खोज्नुले अनियमितताको शंका गर्ने सकिने अवस्था रहेको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्