एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले अन्तरपालिकास्तरीय फुटसल कप आयोजना गर्दै



काठमाडौं ।

नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले माघ ६ गते अन्तरपालिकास्तरीय फुटसल कप २०८० आयोजना गर्ने भएको छ ।
कोटेश्वरस्थित होटेल ए वान भेन्युमा बिहीबार पत्रकार सम्मेलन गरी एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले प्रतियोगिता बारे जानकारी दिएको हो । ‘स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ हुने प्रतियोगितामा जिल्लाका दुई नगरपालिका र ६ गाउँपालिकाका १६ वटा टिमले भाग लिने भएका छन् । नेकपा एमाले रामेछाप काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष राकेश श्रेष्ठका अनुसार प्रत्येक पालिकाबाट दुई-दुई वटा टिमले भाग लिँदै छन् ।

अध्यक्ष श्रेष्ठका अनुसार प्रथम हुने टिमले ३० हजार नगदसहित मेडल र प्रमाणपत्र पाउने छ । दोस्रोले २० हजार, तेस्रोले १० हजार र सान्त्वना हुनेले ५ हजार नगद सहित सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार र मेडल प्रदान गरिने सम्पर्क मञ्चको युवा तथा खेलकुद विभागका कार्यक्रम संयोजक विनोदकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिता ६ गते बिहान आठ बजेदेखि च्यासलस्थित नेसनल स्पोर्टस सेन्टरमा हुने भएको छ । प्रतियोगिताको फाइनल खेल २० मिनेट हुने छ । सेमिफाइनल र क्वार्टर फाइनल १४ मिनेट र लिग खेलको समय १२ मिनेट तोकिएको छ ।

एउटा टिमबाट पाँचजना खेलाडीले मैदानमा खेल्न पाउने छन् । प्रतियोगितामा एउटा टिमबाट आठजना खेलाडी सहभागी हुने छन् ।

पत्रकार सम्मेलनमा नेकपा एमाले वाग्मती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलले खेललाई स्वच्छ र मर्यादित ढङ्गले सञ्चालन गर्न आग्रह गरे । सोही अनुसार खेलको तयारी गर्न पनि उनले निर्देशन दिए ।

 

प्रतिक्रिया दिनुहोस्