पहिचान संरक्षणको नाममा डुङ्गे युगमा फर्कने होइन : बुद्धि खनाल



काठमाडौं ।

नेकपा एमालेका नेता बुद्धि खनालले कसैको विरोध वा आलोचना गरेर पहिचान स्थापित नहुने बताउनुभएको छ । इलाममा आयोजित माघे सङ्क्रान्ति सत्यहाङमा मकर सेवा समारोहलाई सम्बोधन गर्दै खनालले सत्कर्म र सत् व्यवहारले मात्र आफ्नो पहिचान स्थापित गर्न सकिने बताउनुभयो । यस्ता कर्ममा राजनीति भन्दा माथि उठ्न पनि खालले आग्रह गर्नुभयो ।

‘राजनीति भन्दा माथि उठेर सांस्कृतिक पहिचानलाई झल्काउने ढङ्गले सम्पूर्ण जाति, भाषा र धर्ममा रहेका जनता ऐक्यबद्ध हुँदै अगाडि बढ्नु पर्छ’, उहाँले भन्नुभयो । खनालले पहिचानको नाममा फेरी डुङ्गे युग तर्फ फर्कने कुरा मान्य नहुने बताउनुभयो । ‘पहिचानलाई सम्मान गर्नुपर्छ, पहिचानलाई संरक्षण गर्नुपर्छ, तर पहिचान संरक्षणको नाममा डुङ्गे युगमा फर्कने होइन, सांस्कृतिक पक्षलाई सुरक्षित राख्दै हाम्रा धरोहरलाई संरक्षित गरेर सुव्यवस्थित गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक विकास तर्फ अघि बढ्न पर्दछ’, खनालले भन्नुभयो ।

फाल्गुनान्द राष्ट्रिय विभूति भएकाले उहाँ सबैको साझा भएको खनालले बताउनुभयो । त्यसैले उहाँले ज्ञान प्राप्त गरेको ठाउँलाई व्यवस्थित र सुरक्षित गर्न सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । त्यसो गरियो भने मात्र उहाँ माथिको सच्चा सम्मान हुने उहाँले प्रष्ट पार्नुभयो । सो क्षेत्रलाई किराँत विश्व विद्यालयको रूपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

खनालले भाषण गरेर होइन व्यवहारमा नै सामाजिक सद्भाव बढाउने काममा लाग्न सबैलाई अपिल गर्नुभयो । गफले होइन व्यवहारले मात्र समाज रूपान्तरण हुने पनि उहाँले प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्