पिपल्स च्वाइस अवार्ड मनोनयन सार्वजनिक



काठमाडौं ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष प्रदान गर्दै आएको एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७९ अन्तर्गत पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ।

मञ्चले बुधबार पिपल्स च्वाइसका पाँच जना मनोनयन सार्वजनिक गरेको हो। आगामी माघ २८ गते हुने २०औं संस्करणको मनोनयनमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा परेका छन्।

यसअघि माघ १२ गते तय भए पनि प्राविधिक कारणले कार्यक्रम केही दिन सारिएको मञ्चले उल्लेख गरेको छ। खेल क्षेत्रमा पाएका सफलता र लोकप्रियताको आधारमा यस विधामा खेलाडीलाई मनोनयन गरिने गरिन्छ।

यस पटक वर्ष पुरुष, वर्ष महिला, वर्ष प्रशिक्षक, वर्ष युवा र पिपल्स च्वाइस अवार्ड विजेताले पाँच वटा बजाज पल्सर मोटरसाइकल पाउनेछन्। तीमध्ये दुई वटा एन २५० र तीन वटा एन १६० मोटरसाइकल छन्। अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।

प्रतिक्रिया दिनुहोस्