ओप्स खेलकुद महोत्सव बिहीबारदेखि



काठमाडौं ।

अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) को आयोजनामा सातौं ओप्स खेलकुद महोत्सव बिहीबारदेखि हुने भएको छ।

महोत्सवमा विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले जानकारी गराए। फुटबल, बास्केटबल, ब्याडमिन्टन, टेबलटेनिस र एथलेटिक्समा प्रतिस्पर्धा हुनेछ।

फुटबल र बास्केटबलको ब्वाइजमा समान १६–१६ तथा गर्ल्समा समान १२–१२ टिमको सहभागिता रहनेछ। ब्याडमिन्टन र टेबलटेनिसमा समान ३–३ स्पर्धामा खेल हुनेछ।

एथलेटिक्समा १४ स्पर्धा समावेश छन्। गर्ल्स फुटबल टुसाल फुटबल मैदान, ब्वाइज/गर्ल्स बास्केटबल हिमरश्मि स्कुल, ब्याडमिन्टन जी फोर स्पोर्ट्स कोर्ट र टेबलटेनिस सिर्जना ज्ञान सागर स्कुलमा खेलाइनेछ। ब्वाइज फुटबल र एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

महोत्सवमा ओप्समा आबद्ध २५ वटै विद्यालयको सहभागिता रहने ओप्सका सचिव शिव अर्यालले जानकारी दिए । हरेक खेलको टिम च्याम्पियनलाई नगदबाट पुरस्कृत गरिनेछ।

प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने कार्यक्रम संयोजक राजेन्द्रप्रसाद फुयालले जनाएका छन्। महोत्सवको औपचारिक उद्घाटन भने आइतबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्