सुदूरपश्चिम प्रदेशको विजयी सुरुवात



काठमाडौं ।

अलराउन्डर नारायण जोशीको प्रदर्शनमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ५ विकेटले हराएको हो। जितका लागि १ सय ५९ रनको विजयी लक्ष्य सुदूरपश्चिमले २९.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो। टोलीको जितमा शेर मल्ल ४२ रन र नारायण जोशी २८ रनमा नटआउट रहे।

अन्यमा ओपनर खडक बोहरा २१, टेक रावत १८, नरेन भट्ट १२ र किरन ठगुन्ना १६ रनमा आउट भए। लुम्बिनीका अभिषेक गौतमले १० ओभरमा ६० रन खर्चेर ३ विकेट लिए। कृष्ण कार्की र अजय चौहानले १–१ विकेट लिए।

त्यसअघि, सिद्धार्थ रंगशाला भैरहवामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली लुम्बिनी ४८.४ ओभरमा १ सय ५८ रनमा अल आउट भएको थियो । लुम्बिनीका प्रज्वल थापाले ६८ बलमा ४ चौकासहित सर्वाधिक ४२ रन बनाएका थिए।

प्रज्वल बाहेक लुम्बिनीका कुनै पनि ब्याटरले राम्रो ब्याटिङ गर्न सकेनन्। ओपनर विराट भण्डारी २३, सम्राट भुुसाल ९, मिर्नल गुरुङ १४, मोहम्मद हुसेन २६ र दिलसाद अली १० रनमा आउट भए ।

सुदूरपश्चिमका नारायण जोशीले ९.४ ओभरमा १ मेडनसहित ३६ रन खर्चेर ३ विकेट लिए। भोजराज भट्ट र नरेन साउदले २–२ विकेट लिए।

लुम्बिनीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ४ विकेटले हराएको थियो। सुदूरको यो पहिलो खेल थियो। सुदूरले मंगलबार कर्णालीसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्