एनआरवाईसीमा पञ्चकोटी च्याम्पियन



बैतडी ।

बैतडीमा सम्पन्न १६औं संस्करणको एनआरवाईसी कप टि १० क्रिकेट प्रतियोगिताको उपाधि पञ्चकोटी युवा क्लबले जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा आयोजक एनआरवाईसी बठ्ठालाई १९ रनले हराउदै पञ्चकोटी च्याम्पियन बनेको हो।

उपाधिसँगै पञ्चकोटीले २५ हजार नगद प्राप्त गर्‍यो भने एनआरवाईसीले १५ हजार नगद प्राप्त गरेको थियो। टस जितेर ब्याटिङ गरेको पञ्चकोटीले निर्धारित १० ओभर मा ५ विकेटको नोक्सानीमा ९१ रन बनायो।

जसमा सुमित बुडालले २९ रन र ललित मौनीले ११ रन प्रहार गरे। एनआरवाईसीका मदन चन्दले २ विकेट हासिल गरे। बगलेखान मैदानमा ९२ रनको लक्ष्यको जवाफमा एनआरवाईसीले ६ विकेट को नोक्सानीमा ७२ रन मात्र बनाउन सक्यो।

टोलीका ऋषिकेश बोहराले सर्वाधिक २१ रन जोडे। पञ्चकोटीको तर्फबाट सुमित बुडालले ३ विकेट हासिल गरे। प्रतियोगितामा कैलपालका अमर चन्द ‘प्लेयर अफ दि सिरिज’ भए । उनले ५ हजार ५ सय पुरस्कार पाए।

यसका साथै एनआरवाईसीका कल्पेश चन्द बेस्ट बलर, डम्बर तिरूवा बेस्ट ब्याटर, श्यामबहादुर चन्द बेस्ट फिल्डर, भुपेश बोहरा बेस्ट किपर र सन्तोष चन्द उदयीमान खेलाडी बने।

विजेता उपविजेता खेलाडीलाई द.न.पा ११ का वडा अध्यक्ष श्री जय दत्त पन्त र द.न.पा ९ का वडा अध्यक्ष मोहनदेव जोशी, क्लबका अध्यक्ष तारा महरलगायतले पुरस्कार वितरण गरे।

एनआरवाईसी कप क्रिकेट प्रतियोगिता विगत १५ वर्षदेखि निरन्तररूपमा सञ्चालन हुँदै आएको र क्रिकेटको विकास र खेलाडी उत्पादनका लागि नागार्जुन रणशैनी युवा क्लबले सञ्चालन गर्दै आएको प्रतियोगिता निकै महत्वपूर्ण रहेको छ।

प्रतिक्रिया दिनुहोस्