रियलले बार्सिलोनालाई हराएर जित्यो उपाधि



एजेन्सी ।

रियल मेड्रिडले बार्सिलोनालाई हराएर स्पेनिस सुपर कपको उपाधि जितेको छ। रियललाई उपाधि दिलाउन भिनिसिएस जुनियरले ह्याट्रिक गरेका थिए।

उनको ह्याट्रिकको सहयोगमा रियलले बार्सिलोनालाई सहजै रूपमा ४–१ ले हराएको थियो। साउदी अरेबियामा भएको सो खेलमा बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले एक गोल गरेका थिए।

भिनिएसले तीन मिनेटभित्र (सातौं र १० औं मिनेट) दुई गोल गरी रियललाई सुरुवातमै २–० को अग्रता दिलाएका थिए। लेवान्डोस्कीले ३३ औं मिनेटमा गोल गरेर गोलअन्तर २–१ मा खुम्च्याए पनि यसको ६ मिनेटपछि पेनाल्टीमा भिनियसले अर्को गोल थपे।

यो गोलसँगै भिनियसले ह्याट्रिक पूरा गरे भने बार्सिलोनाका लागि खेलमा फर्कने सम्भावना सकिएको थियो। दोस्रो हाफमा रियलका लागि रोड्रिगोले गोल गरेपछि रियलले ४–१ को अग्रता बनाएको थियो।

भिनियस नोभेम्बरपछि खेलमा फर्केका हुन्। उनले खुसियाली मनाउने क्रममा क्रिस्टियानो रोनाल्डोको शैली अपनाएका थिए। रोनाल्डो खेल्ने क्लब अल नासरको किंग साउद युनिभर्सिटी स्टेडियममा भिनियसले रोनाल्डोको खुसी मनाउने शैली गरेका थिए।

भिनियसले बताए—खुसियाली क्रिस्टियानो रोनाल्डोप्रति समर्पित छ किनभने उनी मेरो आदर्श हुन् र उनी यहाँ (अल नासरमा) खेलेका छन्।

यो रियलको एल क्लासिकोमा लगातार तेस्रो जित थियो । साथै सुपर कपमा १३औं उपाधिसमेत थियो। तर, बार्सिलोनाभन्दा एक उपाधिले पछि रहेको छ। बार्सिलोनाले १४ पटक सुपर कप जितेको छ।

प्रतिक्रिया दिनुहोस्