टाइगरकप भलिबल च्याम्प्यिनसिप शुरु

गण्डकी र आर्मीबीचको खेल स्थगित



पोखरा ।

सोमबारदेखि ‘चौथो टाइगरकप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित महिला पुरुष क्लब भलिबल च्याम्पियनसिप’ शुरु भएको छ। टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा पहिलो दिन तीन खेल सम्पन्न भए।

घरेलु टोली गण्डकी प्रदेश र विभागीय क्लब त्रिभुवन आर्मीबीचको खेल भने खराब प्रकाशको कारण स्थगित हुन पुगेको छ। उद्घाटन खेलको रूपमा रहेको दिनको चौथो खेलको तेस्रो सेट सकिए लगत्तै खेल स्थगित गरिएको हो।

पहिलो सेट आर्मीले आफ्नो पक्षमा पारेको थियो । नियमित खेलाडीमा तीन खेलाडी परिवर्तन भएको गण्डकीले पहिलो सेट २४–२६ ले गुमाएको थियो । तीन विदेशी खेलाडी लिएर कोर्टमा उत्रिएको गण्डकीले खेलमा पुनरागमन गर्दै दोस्रो र तेस्रो सेट आफ्नो पक्षमा पारेको थियो।

तेस्रो सेट सकिएसँगै जुरी कमिटीले खराब प्रकाश भएको र खेल खेलाउन असमर्थ रहेको भन्दै स्थगित गरिएको हो। गण्डकी र आर्मी बीचको खेल अब समूह चरणका अन्तिम खेलहरू सकिएपश्चात् हुने भएको छ। गण्डकीले दोस्रोमा २५–२० र तेस्रोमा २५–१८ को जित हासिल गरेको थियो।

त्यसअघि भएको महिलातर्फको पहिलो खेलमा एपीएफले पुलिसलाई ३–२ को सेटमा हरायो। पुलिसले खेलमा उत्कृष्ट पुनरागमन गरे पनि अन्तिम सेटमा सम्हालिन नसक्दा हार व्यहोरेको हो। पहिलो दुई सेट गुमाएको पुलिस तेस्रो सेटबाट खेलमा फर्किएको थियो।

पहिलो सेटमा एपीएफले २५–१८ र दोस्रो २५–१८ ले आफ्नो पोल्टामा पार्‍यो । तेस्रो सेट १९–२५ र चौथो सेट १८–२५ ले गुमाएको थियो। अन्तिम तथा निर्णायक सेटको सुरुवातमा पुलिसले अग्रता लिए पनि जोगाउन नसक्दा एपीएफले १५–१३ को जित हात पार्न सफल भएको हो।

महिलातर्फकै दोस्रो खेलमा चन्द्रागिरी नगरपालिका न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हरायो । पहिलो र दोस्रो सेट २५–२० र २५–१७ ले आफ्नो पक्षमा पारेको डायमन्डले तेस्रो सेट २३–२५ ले गुमाएको थियो। तर, चौथो सेटमा आर्मी माथि हाबी हुँदै २५–१५ को सहज जित हासिल गरेको हो।

पुरुषतर्फको खेलमा एपीएफले नेपाल पुलिसलाई ३–० को सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको छ । पहिलो सेट २५–१८ को जित हासिल गरेको एपीएफलाई दोस्रो खेलमा भने जित निकाल्न निकै हम्मे हम्मे पर्‍यो। एक समय पुलिस २४–१८ को स्थितिमा रहे पनि लगातार अंक बटुल्दै एपीएफले खेल २४–२४ को स्थितिमा ल्याएको थियो ।

त्यसपछि निकै रोचक बनेको खेल ३१–३१ को स्थितिमा समेत पुगेको थियो। त्यसपछि एपीएफ अघि बढ्दै ३३–३१ को जित हासिल गरेको हो। तेस्रो सेटमा एपीएफले २५–१७ को अत्यन्तै सहज जित निकाल्यो।

प्रतिक्रिया दिनुहोस्