प्रधानमन्त्री कप क्रिकेटमा आज तीन खेल



काठमाडौं ।

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदै छन्। आज भैरहवा क्रिकेट मैदानमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच खेल हुँदैछ।

कर्णाली र सुदूरपश्चिम दुवैले आ–आफ्नो पहिलो खेलमा जित हासिल गरेर आज दोस्रो खेल खेल्ने छन्। पहिलो खेलमा कर्णालीले गण्डकी प्रदेशलाई पराजित गरेको थियो भने सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको थियो।

त्यस्तै आज अर्को खेलमा  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा कोशी प्रदेश र नेपाल पुलिस भिड्ने छन्। कोशी प्रदेशले यसअघिका आफ्ना दुवै खेलमा हार बेहोरेको छ भने पुलिस क्लबले आफ्नो पहिलो खेल जितेको छ।

त्यसैगरी आज तेस्रो खेल बागमती प्रदेश र मधेश प्रदेशबीच मुलपानी क्रिकेट मैदानमा हुँदैछ। बागमती प्रदेशले आफ्ना यस अघिका दुवै खेलमा हार बेहोरेको छ भने मधेश प्रदेशले आफ्ना २ खेलमा एक जित र एक हार बेहोरेको छ।

प्रतिक्रिया दिनुहोस्