सर्वाधिक ग्रान्डस्लाम जित्ने प्रयासमा जोकोभिच



एजेन्सी । सिजन २०२३ लाई पछि पार्न कसरी संभव हुन्छ भनेर प्रश्न सकिन नपाउँदै नोभाक जोकोभिचले जवाफ फर्काउन शुरु गरे। विश्व नम्बर एक खेलाडी जोकोभिचले हाँस्दै बताए—अँ, तपाईले चार ग्रान्डस्लाम र ओलम्पिक स्वर्ण जित्न सक्नुहुन्छ।

सर्बियाली टेनिस स्टार जोकोभिच ३७ वर्षको उमेरमा पुगिसकेका छन्। उनले अझै पनि ग्रान्डस्लाम जित्ने सक्ने ताकत भएको बताएका छन्। गत वर्ष तीन ग्रान्डस्लाम जितेका उनले भने—यसमा कुनै रहस्य छैन कि मैले थप कीर्तिमान तोड्न र खेलको इतिहास धेरै रच्न चाहन्छु।

जोकोभिचले गत सिजनसम्म गरी २४ ग्रान्डस्लाम उपाधि जितिसकेका छन्। उनी यति संख्यामा ग्रान्डस्लाम जित्ने एक्लो पुरुष खेलाडी पनि हुन्। उनको बराबरी एक महिला खेलाडी मार्गारेट कोर्ट स्मिथ रहेकी छन्।

कोर्ट स्मिथले पनि २४ ग्रान्डस्लाम उपाधि जितेकी हुन्। यदि यो सिजनमा एक मात्र उपाधि थप्न सकेमा जोकोभिच २५ ग्रान्डस्लाम उपाधिसँगै सर्वाधिक ग्रान्डस्लाम उपाधि जित्ने पहिलो खेलाडी हुनेछन्।

७ उपाधि जितेको
कोरोना काल लगभग समाप्त भएपछि २०२१ सिजनदेखि जोकोभिचले १० प्रमुख उपाधिमध्ये ७ वटा उपाधि जितेका छन्।

यो वर्चश्वले उपाधिको सूचीमा उनलाई उनका निकट प्रतिद्वन्द्वी खेलाडी रोजर फेडेरर (२० उपाधि) र राफाएल नाडाल र स्टेफी ग्राफ (२२ उपाधि) तथा सेरेना विलियम्स (२३ उपाधि) भन्दा अगाडि उभ्याएको छ।

अस्ट्रेलियन ओपनमा पनि जोकोभिचको नाम अगाडि नै आउँछ। उनले मेलबर्न कोर्टमा ११ एकल उपाधि जितेका छन्। गत सिजनमा पनि उनी नै विजेता बनेका थिए। अहिले शुरु हुन लागेको अस्ट्रेलियन ओपनमा पनि उनलाई प्रमुख उपाधि दावेदारीमा राखिएको छ।

ओलम्पिक स्वर्णको जित्ने अवसर

यसपटक पेरिसमा ओलम्पिक खेलकुद हुँदैछ । यहाँ जोकोभिचको लागि स्वर्ण जित्ने ठूलो अवसर रहेको छ। शायद यो उनको लागि अन्तिम अवसर पनि हुनसक्छ।

पछिल्ला दुई ओलम्पिक खेलकुदमा जोकोभिचको कुनै जादु चलेन। रियो ओलम्पिक २०१६ मा उनी पहिलो चरणमै बाहिरिए भने टोक्यो ओलम्पिकमा उनी सेमिफाइनलमै पराजित भएका थिए ।

यदि पेरिस ओलम्पिका स्वर्ण पदक जितेमा उनी करियरको गोल्डेन स्लाम पूर्ण गर्ने पाँचौ खेलाडी बन्नेछन् । स्टेफी ग्राफ, आन्द्रे आगासी, सेरेना विलियम्स र राफाएल नाडालले करियरमा गोल्डेन स्लाम उपाधि जितिसकेका छन्।

यसमध्ये जर्मनीकी ग्राफ (हाल फ्लोरिडामा बसोबास) ले एकै क्यालेन्डरमा गोल्डेन स्लामको उपलब्धि हासिल गरेकी थिइन्। उनले १९८८ मा चार वटै ग्रान्डस्लाम उपाधि जित्नुका साथै सिओल ओलम्पिकमा स्वर्ण पदक जितेकी थिइन्।

जोकोभिचले एकै क्यालेन्डरमा गोल्डेन स्लाम उपलब्धि हासिल गर्नेबारे बताए—यो वर्ष मेरो लागि एकै क्यालेन्डरमा गोल्डेन स्लाम उपलब्धि प्राप्त गर्ने लक्ष्य नै हुनेछ। मेरो लागि यो चुनौतीपूर्ण र दवावपूर्ण वर्ष हुनेछ।

एटीपी उपाधिमा कोनर्सलाई पछि पार्ने

एटीपी उपाधि सर्वाधिक जित्ने सूचीमा अमेरिकाका जिमी कोनर्स पहिलो नम्बरमा रहेका छन् । १९७२ देखि १९८९ को बीचमा कोनर्सले १०९ एटीपी उपाधि जितेका थिए।

यो संख्यालाई पार गर्न अहिलेका बिग थ्री भनेर चिनिने फेडेरर, नाडाल र जोकोभिचले समेत सकेका छैनन्। लगभग रिटायर्ड भइसकेका स्विस स्टार फेडेरर १०३ एटीपी उपाधि जितेर दोस्रो स्थानमा रहेका छन्। तेस्रो स्थानमा जोकोभिच नै रहेका छन्।

उनले ९८ एटीपी उपाधि जितेका छन् भने स्पेनी स्टार नाडालले ९२ एटीपी उपाधि जितेका छन्। जोकोभिच र कोनर्सबिच तुलना गर्ने हो भने जोकोभिच अझै ११ उपाधिबाट पछि छन्।

जेकाभिचले बताए—मसँग सँधै उच्च चाहना र लक्ष्य हुन्छ। मेरो शरीरले जति सहयोग गर्छ त्यतिन्जेल म यस्तै लक्ष्यतिर अघि बढिरहनेछु। मेरा वरिपरि असल मान्छेहरु छन्, जसले मलाई उपाधि जित्न उक्साइरहेका हुन्छन्।

प्रतिक्रिया दिनुहोस्