विनोद राई पाँचौं भ्वाइस अफ नेपाल



काठमाडौं ।

गायन रियालिटी शो भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि विनोद राईले चुमेका छन्। शुक्रबार राति ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित अन्तिम प्रतिस्पर्धामा उनले उपाधि चुमेका हुन्।

विनोदले दर्शकको सर्वाधिक भोटको आधारमा उपाधि चुमेका हुन्। उनले उपाधि चुमेवापत २० लाख नगदसहित विभिन्न पुरस्कार प्राप्त गरेका छन्।

राईले कोच मिलन नेवार समूहको प्रतिनिधित्व गरेका थिए। रियालिटी शोमा मकरबहादुर योञ्जन फस्ट, कुमार प्रयास राई सेकेन्ड र नोगेन लिम्बू थर्ड रनर्सअप भए।

कार्यक्रममा कोच मिलन नेवार, उदय सोताङ, प्रमोद खरेल र राजेशपायल राईले आफ्नो टिमका अन्तिम प्रतियोगीहरूस“गै सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए। त्यस्तै, अन्तिम १२ का प्रतिस्पर्धीसहित हिमालय लोकस्टारका जजले पनि सांगीतिक प्रस्तुति दिएका थिए।

कार्यक्रममा लोकप्रिय लोक तथा दोहोरी गायक राजु परियार र बद्री पंगेनीले पनि प्रस्तुति दिएका थिए। त्यस्तै, भ्वाइसको पहिलो सिजनका विजेता सीडी विजय अधिकारीले आफ्नो लोकप्रिय गीत दूरी मजबुरी गाएका थिए।

अन्तिम प्रतिस्पर्धाको हिमालय टीभी एचडी र भ्वाइस अफ नेपालको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्