काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य सरकारलाई जिम्मा दिने मेयर्स फोरमको निर्णय



काठमाडौँ।

काठमाडौं भ्याली मेयर्स फोरमको छैटौं बैठकले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको कार्य नेपाल सरकारलाई नै जिम्मा लगाउने निर्णय गरेको छ । बुधवार गोकर्णेश्वर नगरपालिकाको आयोजनामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले नेपाल सरकार र नेपवेस्टको बीचमा २०१८ मा भएको सम्झौता हालसम्म कार्यान्वयन हुन नसकेको र नेपाल इन्भेष्टमेण्ट बोर्डले काठमाडौं महानगरपालिकालाई कार्यान्वयनका लागि पनि महानगरपालिकाले सरकारलाई नै फिर्ता पठाइसकेकाले सरकारले नै फोहोर व्यवस्थापनको बाँकी काम गर्न आग्रह गर्ने निर्णय भएको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताए ।

प्रमुख महर्जनले पीडिए गर्नका लागि धेरै शर्तहरु नेपवेस्टले प्रस्ताव गरेको तथा स्थानीय पालिकाहरुले नेपवेस्टको मागअनुसारको जग्गा दिन नसक्ने र नेपवेस्टको टिओआर (टर्म अफ रेफेन्स) बनाउँदा कुनैपनि पालिका संलग्न नभएकाले यस विषयमा बाँकी काम नेपाल सरकारले नै गर्नेगरी उपत्यकाभित्रका सबै नगरपालिकाको फोहोर व्यवस्थापन गर्नका निम्ति सरकारलाई नै अनुरोध गर्ने निर्णय फोरमले गरेको बताए।

बैठकले काठमाडौं उपत्यकामा अबदेखि स्मार्ट सिटी लाइट जडान गर्दा एउटै प्याकेज गरेर अघि बढ्ने यसअघिको बैठकको निर्णयलाई कार्यान्वयन गर्ने निर्णय भएको पनि प्रमुख महर्जनले बताए ।

उनले विद्युत प्राधिकरणले स्थानीय पालिकाहरुको बक्यौताहरु सडक बत्ती, मठ, मन्दिर, शिवालय, देवालयमा बालेको बत्तीहरुको बिल भुक्तानीका लागि गरेको पत्राचारमा पालिकाहरुले असहमति प्रकट गरेको बताए ।

प्रमुख महर्जनले प्राधिकरणले हचुवाको भरमा पञ्चायतकालदेखिको पनि बिल पठाएको आरोप लगाए । आफूहरु प्रतिनिधि भएर आएपछि बालेको बत्तीको पैसा पुस्ट्याँइ गरेमात्रै बिल भुक्तानी गर्ने निर्णय भएको बताए ।

नेपाल विद्युत प्राधिकरणले महानगरपालिकाको जग्गामा विद्युतका सामग्रीहरु राखे बापतको सहयोगमा प्राधिकरणले पनि सो सरहको व्यवहार गर्नका लागि उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री र प्राधिकरणका कार्यकारी निर्देशकसँग फोरमको छिटै अर्को बैठक बस्ने निर्णय भएको पनि बताए।

प्रमुख महर्जनले उपत्यकाका महानगरपालिकासँग सरोकार राख्ने काठमाडौं उपत्यकाका नगरपालिकालाई स्मार्ट सिटी बनाउनका लागि धेरै वर्ष पहिलाबाट जग्गा रोक्का गरिराखेको तर स्मार्ट सिटीको सन्दर्भमा काम अघि नबढेकाले स्मार्ट सिटीको काम तत्काल हुनुपर्ने बताए । तत्काल काम शुरु नभए जग्गा रोक्का राख्न उचित नहुने बारेमा पनि छलफल भएको बताए ।

फोरमको अर्को बैठक तारकेश्वर नगरपालिकाको आयोजनामा बस्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्