संसदीय समितिमा प्रधानमन्त्रीले भने- भारतले २० करोड आफूखुसी खर्च गर्न पाउँदैन



काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले आफूखुसी २० करोड खर्च गर्न नपाउने बताएका  छन्।

शुक्रबार बिहान बसेको सङ्घीय संसद् अन्तर्गतको राज्यव्यवस्था समितिको बैठकमा सदस्यहरूले राखेको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भारतसँग हिजो भएको सम्झौता अनुसार उताबाट प्राप्त हुने सहयोग भारतले आफूखुसी खर्च गर्न नपाउने बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले नगरपालिकामार्फत मात्रै भारतले उक्त रकम खर्च गर्न पाउने जानकारी दिए।

‘३ करोडबाट सुरु भएर ५ करोड हुँदै २० करोड लगानी गर्ने भन्ने सत्य हो तर जसरी मन लाग्यो त्यसरी खर्च गर्ने हैन , प्रक्रिया छ, नगरपालिकाबाट गर्ने हो,’ उनले बैठकमा हिजो भएको सम्झौताका बारेमा प्रस्टीकरण दिँदै भने, ‘तर तपाईंले उठाएको विषयमा मेरो ध्यानाकर्षण भएको छ । बढी व्यावहारिक बनाउन थप काम गर्न सकिनेछ।’

नेकपा एमालेका सांसद रघुजी पन्तले भारतले सोझै २० करोड खर्च गर्न पाउने सम्झौताले राष्ट्रियता कमजोर हुने तथा सरकार निष्प्रभावी हुने भन्दै असहमति प्रकट गरेपछि प्रधानमन्त्रीले सो जवाफ दिएका हुन्। बैठक ५ मिनेटमा नै सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्