राष्ट्रिय सभा निर्वाचन: सत्ता गठबन्धनको बैठक विनानिष्कर्ष सकियो



काठमाडौं ।

राष्ट्रिय सभाको सिट बाँडफाँटको विषयमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठक विनानिष्कर्ष सकिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सिट बाँडफाँटबारे छलफल भएपनि सहमति जुट्न नसकेको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

उनका अनुसार यही विषयमा दलहरूबीच अझै छलफल जारी छ। उनले आज साँझ वा भोलि बिहान पुनः बस्नेगरी बैठक सकिएको बताए।

उनले भने, ‘सरकारमा सहभागी ४ राजनीतिक दलका नेताहरुको छलफल भएको छ। नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेताहरुको बीचमा छलफल भएको छ। मूलतः राष्ट्रिय सभाको विषयलाई लिएर छलफल भएको छ। थप छलफल गर्न बाँकी छ, त्यसका लागि फेरि साँझ, भोलि बिहान बस्ने गरी उठेका छौं।’

प्रमुख सचेतक लेखकले एमालेसँगको छलफल समसामयिक राजनीतिक विषयमा भइरहेको पनि बताए। राष्ट्रिय सभामा साझा उम्मेदवार तय गरेर जाने समझदारी गरेको सत्ता गठबन्धनले कुन दलले कति सिट लिने भन्ने सहमति जुटाउन दिनदिनै छलफल गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्