याक एन्ड यतीमा भारतीय विदेश मन्त्रीसँग हुने छलफलका यस्ता छन् अजेन्डा



काठमाडौं ।

नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय बैठक अहिले केही बेरमा बस्दैछ । सो बैठकका लागि भारतीय विदेश मन्त्री यस जयशंकर केही बेर अघि काठमाडौंमा आइपुगेका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनलाई नेपालका समकक्षी परराष्ट्र मन्त्री एनपी साउँदले स्वागत गरेका थिए । त्रिभुवन विमानस्थलमा स्वागत ग्रहण गरे लगत्तै भारतीय विदेश मन्त्री यस जयशंकरले शितलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नेछन भने त्यसपछि १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन् ।

दिउँसो १ बजे देखि होटल याक एन्ड यति, दरबारमार्गमा दुई देशका विचमा औपचारिक बैठक सुरू हुनेछ । जसमा दुवै देशका परराष्ट्रमन्त्रीको रोहवरमामा वाणिज्य मन्त्रालयबीच विभिन्न एजेन्डामा छलफल हुनेछ ।

जसअनुसार दुवै देशबीच रहेको वाणिज्य सन्धि पुनरावलोकन तथा संशोधन गर्न सम्बन्धित मन्त्रालयका सहसचिव स्तरीय समिति बनाउने प्रयास हुने जनाइएको छ भने कृषिजन्य उत्पादनमा एक अर्काको देशमा कर नलगाउने प्रावधान खारिज गरेर नेपालले भारतको कृषिजन्य वस्तुको आयातमा कर लगाउन सक्ने प्रस्ताव गरेको छ ।

उता, भारतबाट नेपालमा आयात हुने कृषि उत्पादन वस्तुहरूमा नेपालको तर्फबाट कस्टम ड्यूटी लगाउन सक्ने प्रस्ताव गरिने र नेपाली उत्पादन निर्यातमा भारतले लगाएको कोटा प्रणालीलाई हटाउनु पर्ने प्रस्ताव पनि बैठकको छलफलको अजेन्डामा राखिएको छ ।

साथै, ३० प्रतिशत मूल्य अभिवृद्धि भएका वस्तु मात्रै नेपालले भारतमा निर्यात गर्न पाउने विद्यमान व्यवस्था संशोधन गर्दै त्यसलाई २० प्रतिशत बनाउने प्रस्ताव गरिएको छ भने भारतले जुट लगायतका सामग्रीमा लगाउँदै आएको एंटी डम्पिंग ड्यूटी हटाउनु पर्ने प्रस्ताव नेपालले गर्नुका साथै नेपाल र भारतले एक–अर्काका गुणस्तरसम्बन्धी प्रमाणपत्रले मान्यता पाउनु पर्ने प्रस्ताव अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्