काठमाडौं आइपुगे भारतीय विदेशमन्त्री जयशंकर



काठमाडौं ।

भारतका विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन्। उनी नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन बिहीबार बिहान काठमाडौं आइपुगेका हुन्।

विशेष विमानमार्फत त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनलाई परराष्ट्र मन्त्री एनपी साउदले स्वागत गरे।

विदेशमन्त्री जयशंकर समकक्षी साउदको निमन्त्रणमा नेपाल भ्रमणमा आएका हुन्। जयशंकरले आजैदेखि नै राजनीतिक भेटवार्ता थाल्ने भएका छन्।

जयशंकरले बिहान ११ बजे शिलत निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्ने कार्यक्रम छ।

त्यसपछि उनी दिउँसो १ बजे दरबारमार्गस्थित होटेल याक एण्ड यतिमा सुरू हुने परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन्। बैठकमा दुई पक्षबीच माइन्युट आदानप्रदान तथा केही सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ।

दिउँसो १ बजे परराष्ट्रमन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी भएपछि मन्त्री जयशंकरले दिउँसो ३ बजेर ४० मिनेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र साढे ४ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्