ऐला लुवयाले बढायो निशाको व्यस्तता



झः झः धाल भ्वयः छेँया भ्वय : नया
ले ले ताल छगुं हे ख्वा स्वया
ऐला लुवया धे धे चुल
छँ ऐला लुवया छन्त स्ववया

करिब दुई महिनाअघि रिलिज भएको ऐला लुवया बोलको नेवारी गीतले नेवार समुदायमा मात्र नभई अन्य सामुदायमा पनि लोभलाग्दो लोकप्रियता कमाएको छ।

नेवारी दोहोरी गीतको शैलीमा तयार पारिएको यो गीतमा काँठे भाका प्रयोग गरिएको छ। गीतले नेपालीमा भन्छ रमाइलो भयो भोजघरको भोज खाएर। मन फुरुङ्ग भो झन् तिम्रो मुहार हेरेर रक्सी हाल्न आउँदा, मातिए है तिमीले रक्सी हाल्न आउँदा तिमीलाई हेर्न आउँदा।

गीतमा ऐला लुवया भन्ने शब्द दोहोरिरहन्छ। जसको अर्थ रक्सी खन्याउनु भन्ने हुन्छ। नेवारी समुदायमा भोजको बेला सगुनस्वरूप रक्सी दिने चलन रहेको छ।

सोही चलन झल्काउने शब्द टिपेर रोजमन महर्जनले लेखेको गीतमा संगीत पनि उनकै छ भने लोकप्रिय गायिका निशा देशारका साथमा रोजमानले नै गाएका छन्।

अमन मालीको बाँसुरी, मनीष गन्धर्वको सारंगी र धन बहादुर गुरुङको सहनाई वादन रहेको गीत दशैैंको माहोलमा रिलिज गरिएको थियो। सो गीत भोज भतेरकै माहोलमा सुहाउँदो भएकाले नेवारी समुदायमा लोकप्रिय बन्न पुग्यो भने नेपाल भाषा नबुझ्ने अन्य समुदायबीच पनि लोकप्रिय बनेको छ।

नेवारी भाषा नबुझ्नेहरूले पनि सुन्दा नाचौं नाचौं लाग्ने सो गीत सामाजिक सञ्जालदेखि भोज भतेर, विवाह लगायतमा घन्किन थालेपछि जुनसुुकै समुदायका मानिस पनि सो गीतमा नाचेको देख्न सकिन्छ। नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द नहुँदा टिकटकमा भाइरल भएको गीतमा अधिकांश प्रयोगकर्ताले टिकटक बनाएका थिए।

लय र संगीत मन छुने छ भने भाषा गीत संगीतको लोकप्रियताको बाधक बन्न सक्दैन भन्ने यो गीतको लोकप्रियताले पनि पुष्टि गरेको छ।

‘रेकर्डिङ अघि नै यो गीत सुुन्दा फरक खालको निकै सुन्दर लागेको थियो। रोजमानजीले महिलाको स्वरमा मलाई गाउन अफर गर्नुभयो’ आफूले गीत गाउने बेला नेवारी समुदायबीचचाहिँ लोकप्रिय भए पनि यति धेरै लोकप्रियता कमाउला भनेर नसोचेको जनाउँदै निशा भन्छिन् ‘काठेँ भाकामा रहेको यो गीत यति धेरै चर्चामा आउला भन्ने सोचेकै थिइन।’

गीतमाथि आकर्षक म्युजिक भिडियोसमेत निर्माण भएको छ। जुन भिडियोलाई गगन राज डंगोलले निर्देशन गरेका छन्। रोजमान महर्जन, मनोज महर्जन र गगन राज डंगोलको पटकथा रहेको भिडियोमा कलाकारहरू मनोज महर्जन, निश्चल डंगोल, अतुल डंगोल, प्रज्ज्वल महर्जन, हसिना महर्जन, नेरिशा मर्हजन, दीपिशा महर्जन र निशा डंगोलको अभिनय रहेको छ।

श्रुतिना लामाको नृत्य निर्देशन रहेको भिडियोमा गोविन्द मर्हजनको छांयाकन र एलएन डंगोलको सम्पादन रहेको छ।

रोजमानले यसभन्दा अघि सालुगु गाचा सालेमते बोलको नेवार भाषाको गीत ल्याएका थिए भने निशाले करिब एक सय ५० नेवार भाषाका गीत गाइसकेकी छिन्। यो गीतले लोकप्रियताको शिखर चुमिरहँदा निशाको व्यस्ततालाई पनि बढाइदिएको छ।

जमाना खराब छ, तिमी कुन जमानामा छौ, तिम्रो मेरो सम्बन्धको, सावनको भेलजस्तोजस्ता हिट गीतका यी गायिकालाई हिजो आज राजधानीलगायत विभिन्न स्थानमा हुने मेला महोत्सवमा उनका अन्य नेपाली गीतका साथमा ऐला लुवया गीतको माग पनि हुने गरेको छ।

‘हिजो आज जहाँ जान्छु, यही गीत नै डिमान्ड गर्नुहुन्छ’ निशाले हर्ष व्यक्त गर्दै भनिन्।

प्रतिक्रिया दिनुहोस्