उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त



काठमाडौं ।

उच्च अदालतमा रिक्त ४० न्यायाधीशमध्ये ३९ पदमा पदपूर्ति गरिएको छ। बुधबार बसेको न्यायपरिषद्को बैठकले ३९ जना न्यायाधीश नियुक्त गरेको हो । नियुक्तमध्ये २६ जना जिल्ला न्यायाधीशबाट छन् भने ९ जना कानुन व्यवसायीतर्फका छन्।

परिषद्का अनुसार मकवानपुरको जिल्ला अदालतको न्यायाधीशमा राजेन्द्र अधिकारी, गुल्मीमा वसन्तराज पौडेल, बारामा पूर्णेश्वरप्रसाद उपाध्याय, कास्कीमा केशवप्रसाद बास्तोला, बैतडीमा जयानन्द पनेरू, रुकुममा खडकबहादुर केसी, कपिलवस्तुमा सूर्यनारायण अधिकारी, बर्दियामा कैलाशप्रसाद सुवेदी, रौतहटमा मातृकाप्रसाद मरासेनी, कैलालीमा ओमप्रसाद अर्याल र नवलपरासीमा भरत लम्साल रहनुभएको छ।

त्यसैगरी दाङ जिल्ला अदालतमा कृपासुर कार्की, सप्तरीमा हेमन्त रावल, सुर्खेतमा विष्णुप्रसाद अर्याल, कास्कीमा धु्रवकुमार पिया, ललितपुरमा सूर्यप्रसाद पराजुली, काठमाडौंमा कृष्णप्रसाद सुवेदी, मोरङमा दुर्गाप्रसाद ढुङ्गेल, गोरखामा तेजेन्द्रप्रसाद शर्मा, दोलखामा डिल्लीरत्न श्रेष्ठ रहनुभएको छ।

त्यसै गरी काठमाडौंको जिल्ला अदालतको न्यायाधीशमा डण्डपाणि शर्मा, ओखलढुंगामा टीकाराम आचार्य, रुपन्देहीमा उमेश कोइराला, रुपन्देही जिल्ला अदालतमा दरबन्दी काज भक्तपुर जिल्ला अदालतमा रहने गरी कृष्णमुरारी शिवाकोटी, सिन्धुपाल्चोकमा विदुर कोइराला र धनुषामा नारायणप्रसाद सुवेदीलाई नियुक्ति गरिएको छ।

महान्यायाधिवक्ता कार्यालयको सहन्यायाधिवक्तामा रमादेवी पराजुली र हरिप्रसाद जोशी, सर्वोच्च अदालतको सहरजिस्ट्रारमा नेत्रप्रकाश आचार्य र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहसचिवमा कोशलचन्द्र सुवेदीलाई नियुक्त गरिएको छ।

त्यसै गरी कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको सहसचिवमा कोशलचन्द्र सुवेदी, खेमराज भट्ट, अस्मिनकुमार राई, मात्रिकाप्रसाद भण्डारी, नरबहादुर खड्का, सानुमैया डंगोल, सरला मोक्तान, नरेशकुमार चौधरी, कैलाश गुरुङ र माधव धिताललाई न्यायाधीशमा नियुक्त गरिएको छ।

परिषद् बैठकले १६ जना न्यायाधीशको सरुवा गरेको छ। कृष्ण गिरी र टेकनारायण कु“वरलाई उच्च अदालत दिपायल, वामदेव ज्ञवालीलाई जनकपुर, खुसीप्रसाद थारूलाई वीरगञ्ज, मुनेन्द्रप्रसाद अवस्थी, तेजनारायण सिंह र जगत्बहादुर थापालाई राजविराजमा, शकुन्तला घिमिरेलाई ओखलढुंगा, सरलाकुमारी पाण्डेलाई तुल्सीपुर, अञ्जु उप्रेती ढकाललाई धनकुटा, गीताप्रसाद तिम्सिना र राजुराम सिलवाललाई विराटनगर उच्च अदालतमा सरुवा गरिएको छ । त्यसै गरी मीना सेढाईं गौतम, रेखा थापा पाण्डे र सागर विष्टलाई जनकपुर र गणेश ठाकुरलाई दिपायलमा सरुवा गरिएको छ।

परिषद्को निर्णयअनुसार चार जना कर्मचारी तर्फबाट न्यायाधीशमा नियुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्