सूर्यदर्शन सहकारी ठगी प्रकरण : शिवलाई थुनामा पठाउन अदालतकाे आदेश



काठमाडाैं ।

ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जीबी राई समूहको सूर्यदर्शन सहकारीको ठगी प्रकरण मुद्दामा नेकपा एमालेनिकट युवा संघका केन्द्रीय उपमहासचिव शिवबहादुर गुरुङ (महेन्द्र भोटे) लाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश बसन्तजंग थापाको एकल इजालसले सहकारीका पूर्वसञ्चालक सदस्य गुरूङ र सहकारी सञ्चालक भविश्वर अर्याललाई बुधबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । गत २५ भदौमा पक्राउ पुर्जी जारी भएदेखि गुरूङ र अर्याल फरार थिए । उनीहरू कानुन व्यवसायीसहित मंगलबार अदालतमा हाजिर भएकोमा थुनछेक बहस नसकिएपछि प्रहरी हिरासतमा पठाइएको थियो । बुधबार धरौटीमा छोड्न अदालतले अस्वीकार गरेसँगै दुवै जना कारागार चलान भएका छन् ।

सूर्यदर्शन सहकारीसम्बद्ध १९ जनाविरुद्ध एक अर्ब ११ करोड बिगो दाबी गरेर अदालतमा मुद्दा लगिएको छ । सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल यसअघि नै पुर्पक्षका लागि थुनामा गइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्