कम्प्युटर गोदाममा आगलागी हुँदा ९० लाख बढीको क्षति



धादिङ ।

धादिङमा एक कम्प्युटर गोदाममा आगलागी हुँदा ९० लाख बढीको क्षति भएको छ। सिद्धलेक गाउँपालिका वडा नं १ बैरेनीमा रहेको उक्त कम्प्युटर गोदाममा गएराती आगालागि भएको हो।

नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ बेसीमा दर्ता भई सञ्चालनमा रहेको प्रतीक कम्प्युटर एन्ड ट्रेनिङ सेन्टरको बैरेनी स्थित गोदाममा आगलागी हुँदा  ९० लाखभन्दा बढीको क्षति भएको सेन्टरका सञ्चालक तिलक सिम्खडाले जानकारी दिए।

मध्यराती भएको आगलागी नियन्त्रण गर्न नीलकण्ठ नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयबासीलाई करिव ३ घण्टा लागेको स्थानीय भगवान् भट्टले बताए।

कम्प्युटर गोदाममा नयाँ र विभिन्न व्यक्ति तथा सङ्घ/संस्थाका मर्मत गर्न ल्याइएका कम्प्युटर, ल्यापटप, विद्युत् इन्भर्टर, एसी लगायतका समानहरु रहेको पनि सिम्खडाले बताए।

एकान्तमा रहेको गोदाममा विद्युत् सर्ट भएर आगलागी भएको आशङ्का गरिएको छ । नजिकमा मानिसको बसोबास नरहेको र अन्य कतै आगो बालेको नभेटिएकाले विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने बैरेनी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (असई) राजिव बैठाले बताए।

प्रारम्भिक अनुमानमा ९० लाख बढीको क्षति भएको देखिएको भन्दै असई बैठाले घटनाको थप विवरणकारलागि अनुसन्धान भैरहेकाे र विज्ञ टोलीको अध्ययनपछि मात्रै क्षति विवरण यकिन हुने जानकारी दिए।

विगत २० वर्षदेखि सञ्चालनमा रहेको सेन्टरले नीलकण्ठ ३ मा रहेको भाडाको गोदाम सारेर ६ महिनादेखि सिद्धलेक १ बैरेनीमा सामग्रीहरू गोदाम गर्दै आएको थियो।  सेन्टरका सञ्चालक सिम्खडा धादिङ उद्योग वाणिज्य सङ्घका महासचिवसमेत हुन्।

प्रतिक्रिया दिनुहोस्