सुन तस्करी गर्नेविरुद्ध १ अर्ब ४० करोडको मुद्दा



काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले १४ किलो सुन बरामद भएको घटनामा पक्राउ परेका अभियुक्तबाट १ अर्ब ४० करोडको विगो दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

गत मंसिर २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १४ किलो सुन बरामद भएको विषयमा कार्यालयले छानबिन गरी सोमबार मुद्दा दायर गरेको प्रमुख भन्सार अधिकृत मणिराम पौडेलले जानकारी दिनुभयो।

भन्सार कार्यालयले फ्लाई दुबईबाट काठमाडौं आएका चन्द्र घलेबाट १४ किलो सुन बरामद गरेको थियो । सो सुन उनले ज्याकेटभित्र लुकाएर ल्याएका थिए। यसको अनुसन्धानपछि भन्सार कार्यालयले १० जनाविरुद्ध मुद्दा दायर गरेको हो। स्रोतका अनुसार सो सुन तस्करी प्रकरणको जालो माथिसम्ममा नै रहेको बताइएको छ।

भन्सार कार्यालयले मीनबहादुर घले, चन्द्र घले, कृष्णकुमार श्रेष्ठ, डनबहादुर गुरूङ र उनकी श्रीमती बिना गुरुङलाई मुख्य प्रतिवादी बनाएको छ।

त्यसै गरी विमानस्थलका कर्मचारी प्लम्बर शेरबहादुर बस्नेत, सरसफाइमा कार्यरत कर्मचारी रमेश देउला, लेकबहादुर तामाङ, एयर कन्डिसनर चलाउने/मर्मत गर्ने राधाकृष्ण श्रेष्ठ र अनिल श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ। उनीहरूलाई सहयोगीको रूपमा कायम गरी मुद्दा दायर गरिएको कार्यालयले जनाएको छ।

भन्सार कार्यालयले तस्करी अनुसन्धान गर्ने क्रममा ८ जनालाई पक्राउ गरेको थियो। दुई जनालाई फरार कायम गरी मुद्दा दायर गरिएको छ। यसको अनुसन्धान गर्न प्रमुख भन्सार प्रशासक डा. टोकराज पाण्डेले प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गर्नुभएको थियो।

छानबिन समितिले अनुसन्धान गरी तस्करीस्मा संलग्नको पहिचान गरेको थियो। सो समितिले अध्ययन गरि पुस ८ गते नै कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

अनुसन्धान गर्ने क्रममा सो समूहले यस अघि पटक पटक गरी हालसम्म १ सय ३८ किलो सुन तस्करी गरिसकेको स्वीकार गरेको स्थितिमा १ सय ३८ किलो सुन बराबर एक अर्ब ४० करोड रुपियाँ बराबरको बिगो मागदाबी गरेको हो।

साथै भन्सार ऐन, २०६४ अनुसार उनीहरूलाई कैद सजाय मागदाबी गरिएको छ। सो ऐनअनुसार तीन करोडभन्दा बढी सुन तस्करी गरेको मुद्दामा ५ वर्षसम्म कैद सजाय हुनसक्ने प्रावधान छ।

बिगोको हकमा उक्त बिगो असुल गरी त्यति नै रकम बराबरको जरिवाना पनि मागदाबी गरिएको भन्सार कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्