बालकुमारी घटना : दुई मन्त्रीलाई छानबिन गर्न सुशासन समितिको निर्देशन



काठमाडौं ।

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारी घटनामा श्रममन्त्री शरदसिंह भण्डारी र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको भूमिकाका बारेमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ।

शुक्रबार भएको बालकुमारी घटनामा दुई युवाको मृत्यु भएपछि सोमबार गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै समितिले उक्त घटनामा श्रम मन्त्री र भौतिक पूर्वाधारमन्त्रीको भूमिकाबारे छानबिन गर्न निर्देशन दिएको हो।

त्यस्तै, बैठकले मृतकका परिवारलाई क्षतिपूर्तिको थप व्यवस्था गर्न पनि निर्देशन छ भने मृतकका परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्न निर्देशन दिएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो।

बैठकले साना कर्मचारी मात्र निलम्बन हुने र अरू उम्किने अवस्था सिर्जना नहुनका लागि र काम गर्नेहरूको मनोबल पनि नगिर्ने गरी समस्याको समाधान गर्न न्यायोचित काम गर्न निर्देशन दिएको खतिवडाले नेपाल समाचारपत्रलाई बताउनुभयो।

त्यस्तै, समिति बैठकले आगामी दिनमा यस्ता घटना हुन नदिन सजग रहन प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयलाई निर्देशन दिएको छ । सुरक्षा निकायलाई पर्याप्त आवश्यक स्रोत साधन उपलब्ध गराउन पनि समितिले निर्देशन दिएको खतिवडाले बताउनुभयो।

समितिको बैठकमा सांसदहरूबाट उठेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री नारायणकाजी श्रेष्ठले यातायातमन्त्री ज्वालाको आगमनका कारण स्थिति असामान्य बनेको बताउनुभयो।

उहाँले ईपीएस कोरिया शाखा कार्यालयका प्रमुखको भूमिका सकारात्मक नरहेको र सुरक्षा कमजोरी भएको स्वीकार गर्नुभयो। आन्दोलनको जानकारी भइसकेपछि पनि मन्त्री ज्वाला सोही बाटो भएर आउनुले घटना थप असामान्य बनेको बताउनुभएको थियो।

मृतकका परिवार र सरकारबीच ४ बुँदे सहमति

सरकार र बालकुमारी घटनाका मृतक परिवारबीच ४ बुँदे सहमति भएको छ। सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा दुई पक्षबीच भएको वार्तामा मृतकका परिवारका १/१ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र दिलाउन सरकार सहमत भएको छ।

परिवारका सदस्यसँगको सल्लाहमा यस्तो रोजगारी दिने सहमतिपत्रमा उल्लेख छ। सरकारले उपलब्ध गराउने १० लाख रुपियाँको राहतका अतिरिक्त थप राहत उपलब्ध गराउन यथाशीघ्र आवश्यक सहजीकरण गर्ने सहमति पनि भएको छ।

मृतक वीरेन्द्र शाह र सुजन रावतलाई सहिद घोषणाका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुरोध गर्ने पनि सहमतिपत्रमा उल्लेख छ।

मृतकका परिवारले सोमबार नै शव बुझ्ने र शवलाई सम्बन्धित जिल्लामा पुर्‍याउने प्रबन्ध गृह मन्त्रालयले नै गर्ने सहमति भएको छ।

सम्बन्धित जिल्लाका निर्वाचन क्षेत्रमा सांसदहरूको रोहबरमा सरकारको तर्फबाट गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारी र मृतकको परिवारका तर्फबाट वीरेन्द्र शाहका बुबा टेकबहादुर शाह, सुजनका मामा टेकबहादुर कटुवालले सहमतिपत्रमा हस्ताक्षर गर्नुुभएको छ।

१३ पुसमा ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो।

सरकारले घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ समिति गठन गरिसकेको छ। मृतकका परिवारका सदस्यलाई प्रतिपरिवार १० लाख रुपियाँ दिने निर्णय पनि गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्