सरकार र बालकुमारी घटनाका मृतकका परिवारबीच चार बुँदे सहमति

0
Shares

काठमाडौँ।

सरकार र बालकुमारी घटनामा ज्यान गुमाएका मृतकका परिवारबीच चार बुँदे सहमति भएको छ। सोमबार गृह मन्त्रालयका प्रतिनिधि र मृतकका परिवारका प्रतिनिधिबीचको वार्तापछि चार बुँदे सहमति भएको हो।

उक्त सहमति पत्रमा सरकारको तर्फबाट उपसचिव उमाकान्त अधिकारीले हस्ताक्षर गरेका छन् । वीरेन्द्रका बुवा टेकबहादुर शाह र सुजनका मामा टेकबहादुर कटुवालले पनि हस्ताक्षर गरेका छन्।

गएको शुक्रबार ललितपुर महानगरपालिका-८ बालकुमारीस्थित इपिएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषय भएको प्रदर्शनका क्रममा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप भएको थियो। प्रहरीले बल प्रयोग गर्दा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो।

मृतक परिवारलाई सरकारले १०-१० लाख रुपैयाँ दिने निर्णय मन्त्रिपरिषदको बैठकले गरिसकेको छ । त्यसबाहेक मृतक परिवारका सदस्य एक-एक जनालाई रोजगारी दिने पनि निर्णय भएको हो।
सरकारले अतिरिक्त थप राहत उपलब्ध गराउन पहल गर्ने पनि दुई पक्षबीच सहमति भएको छ।

दुबै मृतकलाई शहीद घोषणाका लागि पहल गर्ने र दुबै जनाको शव परिवारले बुझ्ने पनि सहमति भएको हो।

शव सम्बन्धित जिल्लामा पुर्‍याउने प्रबन्ध पनि गृहले नै मिलाउने सहमति पत्रमा उल्लेख छ।