मन्त्रिपरिषद् बैठकमा बाँडिने महँगो खाजा कटौती, वार्षिक ६० लाख जोगिने



काठमाडौं ।

सरकारले आजदेखि मन्त्रीपरिषद् बैठकका बेला दिने गरिएको महँगो खाजा कटौती गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स-साना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठक दिने गरिएको महँगो खाजा कटौती गरेको जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

खाजा बापत प्रत्येक मन्त्रिपरिषद् बैठकमा करिब रु ६० हजार खर्च हुने गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। वर्षमा एक सयभन्दा बढी मन्त्रिपरिषद् बैठक हुने गरेका छन्। मन्त्रिपरिषद्मा बाँडिने खाजा कटौती भएसँगै वार्षिक करिब रु ६० लाख जोगिएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

मन्त्रिपरिषद् बैठकमा सामान्य खाजा खुवाउन सुरु गरिएको छ। सुशासन र सुधारमा ससाना विषय पनि महत्वपूर्ण मानिने भएकाले प्रधानमन्त्री दाहालले आफ्नै कार्यालयबाट सुधारको थालनी गरेको आचार्यले बताए। सुशासन र सुधारका कार्यलाई निरन्तर अगाडि बढाइने उनको भनाइ छ।

सरकारको कार्यशैली बदल्ने घोषणा गरेका प्रधानमन्त्री दाहाल सार्वजनिक बिदाका दिन बाहेक दैनिक १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्