प्रेस काउन्सिल ऐन संशोधन हुनुपर्छ : अध्यक्ष बस्नेत 



काठमाडौं । 

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइन र युट्युब च्यानलहरुको प्र्रभावकारी नियमनका लागि प्रेस काउन्सिल ऐन संशोधन गर्नुपर्ने बताएका छन्  । काउन्सिलले शुक्रवार आयोजना गरेको पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले नयाँ मिडियाले ल्याएको चुनौती समाधान गर्नका लागि उक्त ऐनका केही दफा संशोधन गर्न जरुरी भएको औँल्याए।

‘डिजिटल प्लेट्फर्म मार्फत सञ्चालित सञ्चारमाध्यमको प्रभावकारी नियमनका लागि अहिले भएकै प्रेस काउन्सिल ऐनका केही दफा हेरफेर गरे पुग्छ । सरकारले चाह्यो भने यो प्रक्रिया चाँडै टुंगो समेत लाग्छ’, अध्यक्ष बस्नेतको सुझाव थियो, ‘नियमनकै लागि वर्षौं लगाएर नयाँ ऐन ल्याइरहनु पर्दैन । कानुनको नाम फेरेर भन्दा पनि भइरहेको कानुनमा के थपघट गर्ने हो त्यसतर्फ सरोकारवालाको ध्यान जानुपर्छ ।’
उनले केही नेपाल ऐन संशोधन गर्ने विधेयक मार्फत छोटो बाटोबाट अनलाइन र सामाजिक सञ्जालको व्यवस्थापन र नियमन गर्न सकिने बताए ।

 नयाँ खुलेका अनलाइनका सम्पादक, प्रकाशकहरु सहभागी कार्यक्रममा अध्यक्ष बस्नेतले प्रेस काउन्सिलले स्वस्थ, मर्यादित, जिम्मेवारपूर्ण र विश्वसनीय पत्रकारिता चाहेको र त्यसतर्फ सञ्चारकर्मी स्वयंले तदारुकता देखाउनुपर्ने उनको भनाई थियो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले काउन्सिलले अनलाइनलाई मर्यादित र जिम्मेवार बनाउन सृजनात्मक काम गर्दै आएकोमा प्रशंसा गरेका थिए।
‘विगतमा कतिपय पत्रकार आचारसंहिता उल्लङ्घनको कारबाहीमा पर्दा आचारसंहिता हुन्छ भन्ने गुनासो आउने गरेको थियो । यस्ता अभिमुखिकरणले त्यो समस्या हल गरेको छ, पोखरेल भने ।

काउन्सिलका बोर्ड सदस्य दीपक पाण्डेले नयाँ दर्ता भएका अनलाइनहरुले समाजलाई सही दिशामा लैजाने गरी पत्रकारिता गर्नुपर्ने आबश्यकता औँल्याए ।

काउन्सिलका बोर्ड सदस्य ठाकुरप्रसाद बेलबासेले  पत्रकारले कुनै पनि समाज, वर्गलाई चोट नपु¥याउन, सामाजिक सद्भाव नबिथोल्न सजग हुनुपर्नेमा जोड दिए । उनले काउन्सिलबाट जारी भएका सञ्चार निर्देशिकाबारे सहजीकरण गरेका थिए ।

राष्ट्रिय समाचार समितिका बोर्ड सदस्य एवं विषय विज्ञ डिल्लीराम भट्टराईले  आचारसंहिता र काउन्सिलले जारी गरेका निर्देशिकाहरुको पालना गर्दा  पेसागत मर्यादा र गरिमा बढ्ने बताए । ‘स्वच्छ पत्रकारिताको नमुना देखाउन यस्ता कार्यक्रम फलदायी हुन्छ, भट्टराईले भने ।

काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले पत्रकारितामा कोही रहरले आउने त कोही झ्वाम्म हाम फाल्नेलगायतका प्रवृत्ति देखिएको उल्लेख गरे ।
काउन्सिलले नयाँ सूचीकरण हुन आएका अनलाइन पत्रिकाका सञ्चालकहरुलाई सूचीकरण प्रमाणपत्र प्रदान गर्नु पहिले यस्तो अभिमुखीकरण दिँदै आएको छ । आजको कार्यक्रम यसैको ३५ औँ शृङ्खला हो ।

प्रतिक्रिया दिनुहोस्