एमालेको पक्षमा देश नै उठेको छ : केपी ओली



काठमाडौँ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको पक्षमा सिङ्गो देश नै उठेको बताएका छन् ।
नेकपा एमाले चितवनले शुक्रबार कालिका नगरपालिकास्थित खोलेसिमलमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सिद्ध्याउँछौँ भन्नेहरूको सपना विफल भएको बताए । ‘देश उठेको छ, जागेको छ, फेरि जाग्छ, एमाले सिद्ध्याउँछौँ भनेर लाग्दा त कसैले सिद्ध्याउन सकेन भने, अब त एमाले मात्रै हो यो देश बनाउने, देशलाई अगाडि बढाउने यो कुरा स्थापित भएको छ’, उनले भने।

ओलीले देशलाई अगाडि बढाउने काम एमाले बाहेक अरूले गर्न नसक्ने बताए । ओलीले विकास र सुशासनको प्रष्ट दृष्टिकोण भएको पार्टी नेकपा एमाले मात्र भएको दाबी गरे।

दुनियाँमा सबै शक्तिसँग आँखा जुधाएर कुरा गर्न सक्ने, देशको पक्षमा बोल्न सक्ने एमाले बाहेक कोही नभएको ओलीको भनाइ छ । यो कुरा नेता कार्यकर्ताले जनतामा पुर्‍याउनुपर्ने उनले बताए। समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा नै एमालेको संकल्प भएको प्रष्ट पारे । उनले त्यसमा कसरी पुग्ने भनेर जनतालाई बुझाउन पनि आवश्यक रहेको बताए ।

एमाले सरकारमा छँदा असाधारण काम गरेको उनले बताए । एमाले सरकारमा छँदा जनतामा बेग्लै खालको ऊर्जा सञ्चार भएको ओलीको भनाइ छ ।
राजनीतिलाई स्थिर बनाउने, लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने, विकास निर्माणलाई अघि बढाउने, अर्थतन्त्र अघि बढाउने, समाजलाई एकताबद्ध बनाउने, जनतामा आशा, भरोसा, उत्साह र विश्वास जगाउने काम एमालेले मात्रै गर्न सक्ने ओलीको दाबी छ ।

ओलीले एमाले निरन्तर बग्ने नदी जस्तै पार्टी भएको बताए । एमालेको उद्देश्य चुनावदेखि चुनावसम्म नरहेको ओलीले प्रष्ट पारे ।
एमालेले हालै सम्पन्न गरेको समृद्धिका लागि संकल्प यात्रा जस्ता कार्यक्रम एमाले बाहेक अन्य कुनै पार्टीले गर्न नसक्ने उनले प्रष्ट पारे । यो यात्रा ऐतिहासिक र असाधारण रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्