खुट्टा नकमाएकै कारण मुलुकको प्रधानमन्त्री भए : प्रधानमन्त्री दाहाल 



दोलखा। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले खुट्टा कमाएको भए मुलुकको प्रधानमन्त्री नै बन्न नसक्ने उल्लेख गर्दै  दह्रोसँग खुट्टा टेकेकै कारण मुलुकको प्रधानमन्त्री बनेको बताएका छन्  । शुक्रवार बृहत् दोलखा महोत्सव– २०८० को उद्घाटन गर्न सदरमुकाम चरिकोट आएका  प्रधानमन्त्री दहालले अहिले सुशासनको काम गर्दा पनि आफूले दह्रोसँग खुट्टा टेकेको बताए ।

प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्रमा पूर्ण सुधार भयो भन्ने अवस्था नरहे पनि विगतको तुलनामा निक्कै राम्रो भएको बताए । मैले सरकारको नेतृत्व सम्हाल्दा मुलुकको अर्थतन्त्र भयङ्कर सङ्कटमा थियो प्रधानमन्त्री दाहालले भने– अहिले त्यो अवस्थामा क्रमशः सुधार हुँदै  गएको छ ।’प्रधानमन्त्री दाहालले सबैले थोरै बल गर्ने हो भने मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्कन सक्ने दाबी समेत गरे।

प्रधानमन्त्री दाहालले दोलखाको तामाकोशी करिडोर हुदै अघि बढेको चीन र भारत जोड्ने सडकलाई सरकारले उच्च प्राथमिकता दिएको उल्लेख गर्नुहुँदै दोलखामा फिल्मशिटी निर्माण गर्ने कुरामा समेत आफूले सकारात्मक काम गरिरहेको बताए । दोलखामा फिल्मशिटी निर्माण गर्न सुरुमा मेरै पालामा बजेट छुट्टाइएको हो प्रधानमन्त्री दाहालले भने– अब पनि म प्रधानमन्त्री भएकै बेला यसको काम अघि बढ्ने छ ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले आफूलाई दोलखा असाध्य मन पर्ने उल्लेख गर्दै  आफ्नो पार्टी शान्ति प्रक्रियामा आएपछि पहिलो पटक राजधानी बाहिर चरिकोट र जिरीमा बास बसेको स्मरण समेत गरे । दोलखा जिल्ला नेपालको समय मापन गौरीशङ्कर हिमाल भएको जिल्ला, हाम्रो पार्टीको इमान्दार, सक्रिय राजनीतिक योद्धा रितबहादुर खड्काको जिल्ला त्यहि कारण पनि मलाई यहाँ पटक– पटक आउन मन पर्छ– प्रधानमन्त्री दहालले भने ।

दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न महोत्सव उद्घाटन कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री पार्वत गुरुङ, नेपाली कांग्रेसको केन्द्रीय सदस्य जीपछिरीङ लामा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका पूर्व मन्त्री विशाल खड्का लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

महोत्सव उद्घाटनको अवसरमा प्रधानमन्त्री पुष्पकमल दहालले समाजसेवी प्रभुराम श्रेष्ठ, विदुर शर्मा, दोलखा बैतेश्वर गाँउपालिकाका प्रमुख छवि लामा, च्छो– रोल्पा जनरल अस्पताल, डा. विनोद दंगाल, पत्रकार श्याम खतिवडा, दोलखा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रामेश्वर मानन्धर, जिरी उद्योग वाणिज्य संघ, दोलखा उद्योग वाणिज्य संघ सिंगटी, मागादेउराली र मैनापोखरी शाखा तथा दोलखा वितरक संघलाई सम्मान गरेका छन् ।

स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै  सुरु भएको बृहत् दोलखा महोत्सव– २०८० आगामी पुस २२ गतेसम्म सञ्चालन हुने सचिव प्रवीण श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्