सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ



काठमाडौं ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पनि सुुनुवाइ हुने भएको छ। आइतबारदेखि निरन्तर सुनुवाइ सुरु गरिएको र बिहीबार बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा आजका लागि राखिएको हो।

बिहीबार मुरारी सापकोटा, अधिवक्ता रोशनी पौडेल तथा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्ण सापकोटा, सबिता भण्डारी, रमण श्रेष्ठलगायतले बहस गरेका थिए।

रमणकुमार श्रेष्ठको बहस नसकिएकाले आज पनि उनले नै बहसको सुरुवात गर्नेछन्। रमणपछि २ जना कानुन व्यवसायी रामेश्वर न्यौपाने र सरोजकृष्ण घिमिरेले बहस गर्ने तयारी गरेका छन्।

सन्दीपका पक्षका कानुन व्यवसायीको बहस सम्भवत: शुक्रबार सकिने छ। सन्दीपका कानुन व्यवसायीको बहसपछि सरकारी पक्षले जवाफी बहस गर्नेछन्।

जवाफी बहस सकिएपछि मात्रै अदालतले उक्त मुद्दामा निर्णय सुनाउनेछ। सन्दीपको मुद्दामा वादी र प्रतिवादी दुवै तर्फका वकिलहरुले आ–आफ्नो बहस नोट यसअघि नै बुझाइसकेका छन्।

अदालती समय अगावै जवाफी बहस समेत सकिएमा अदालतले शुक्रबार नै निर्णय सुनाउन सक्नेछ। बहस नसकिएको खण्डमा भने मुद्दा पुन: हेर्दाहेर्देमा रहेर अर्को दिनका लागि सर्नेछ।

गत आइतबारदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुनवाइ जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्