निम्स र बीएनए सेमिफाइनलमा



काठमाडौं ।

निम्स र बसुन्धरा नेसनल एकेडेमी (बीएनए) १५औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

निम्सले एचएचसीएलाई २०–१४ ले पराजित गर्‍यो। निम्सकी टीना लिम्बूले १० अंक योगदान गरिन् । स्मृति खत्रीको १३ अंक सहयोगमा बीएनएले ग्रिनल्यान्डलाई १७–१५ ले हरायो।

सिनियर गल्र्समै एनसीसीएसले हिमरश्मिलाई २३–१४ तथा भ्याली पब्लिकले आयोजक ठुङरम इन्टरनेसनल एकेडेमी (टीआईए) ‘बी’ लाई २६–६ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे। एनसीसीएसकी दिभा महर्जन र भ्याली पब्लिककी लोरिशा गौचनले समान १३–१३ स्कोर गरे।

सेमिफाइनलमा भ्याली पब्लिकको भेट बीएनएसँग हुनेछ भने निम्सले एनसीसीएस विरुद्ध खेल्ने छ। सिनियर ब्वाइजमा निम्सले जेनिथलाई ४४–४१, ग्रिनल्यान्डले टीआईएलाई ५५–२७, भ्याली पब्लिकले बीएमसीएलाई ३१–२० र एचएचसीएले विल्सन एकेडेमीलाई ४३–२८ ले पन्छ्याउँदै सेमिफाइनलमा स्थान पक्का गरे।

निम्सका सुवास लामिछानेले २०, ग्रिनल्यान्डका प्रवीण गुरुङले २४, भ्याली पब्लिकका सुनील पौडेलले ७ र एचएचसीएका डेविड राईले १६ स्कोर गरे । सेमिफाइनलमा एचएचसीएले निम्स तथा भ्याली पब्लिकले ग्रिनल्यान्ड विरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्