पोखरालाई हराएर ललितपुर सिटी फाइनलमा



काठमाडौं ।

अतिरिक्त समयमा कुशल देउवाले गरेको विजयी गोलको सहयोगमा १० खेलाडीमा सीमित ललितपुर सिटी एफसी जारी नेपाल सुपर लिगको फाइनलमा पुगेको छ।

दशरथ रंगशालामा भएको प्रतियोगिताअन्तर्गत दोस्रो क्वालिफायर खेलमा ललितपुरले पोखरा थन्डर्स एफसीलाई २–१ ले हराएको हो। योसँगै शनिबार हुने फाइनलमा धनगढी एफसी र ललितपुरले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् ।

धनगढी गत पहिलो संस्करणको फाइनलिस्ट टोली हो भने ललितपुरको यो पहिलो फाइनल खेल हुनेछ। गत संस्करणमा काठमाडौं रेजर्स एफसीले उपाधि जितेको थियो। तर, जारी दोस्रो संस्करणको नेपाल सुपर लिगमा काठमाडौं ललितपुरसँग पराजित भएर बाहिरिएको थियो । धनगढीले पनि पोखरालाई नै हराएर फाइनलको यात्रा तय गरेको थियो।

निर्धारित समय १–१ बराबरीमा समाप्त भएको थियो। जसमा खेलको ३३ औं मिनेटमा निखिल कदमले दोस्रो पहेँलो कार्ड आत्मसात गरेपछि रातो कार्ड पाएका थिए।

उनको बहिर्गमनपछि ललितपुर १० खेलाडीमा सिमित भएको थियो। यसको बावजुद ललितपुरले पहिलो हाफमा अग्रता बनाउन सफल भयो।

ललितपुरका लागि इमोह इजेकेलले इन्ज्युरी समयको पहिलो मिनेटमा काउन्टर एट्याकमा गो गरेका थिए। पापा इबु केबेले आफ्नै हाफबाट दिएको लामो पासमा इमोहले अफसाइड ट्रयाप बिट गर्दै बल अघि बढाए।

इमोहले दिनेश र क्वेटेको दबाब छिचोल्दै पेनाल्टी क्षेत्रभित्र पुगेर इभ्स प्रिसोलाई सहजै बिट गरेर गोल गरेका थिए। तर, ७१औं मिनेटमा पोखराले बराबरी गोल फर्काएर खेलमा रोमाञ्चक थप्यो।

आइडुको क्रसमा अन्नोरले हेडर मार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । यसपछि दुबै तर्फबाट केही आक्रमण भएपनि गोल भने हुन सकेन।

खेल अतिरिक्त समयतिर धकेलियो। ९९औं मिनेटमा ललितपुरले खेलमा पुनः अग्रता लियो। ओमोलाजा करिमको फ्रिकिकमा अनन्त तामाङको हेडर पासमा कुशलले गोल गर्दै खेलमा ललितपुरलाई पुनः अग्रता दिलाए।

प्रतिक्रिया दिनुहोस्