यी हुन् कांग्रेस बागमती प्रदेश सम्मेलनका ११ एजेन्डा



काठमाडौं ।

नेपाली कांग्रेस बागमती प्रदेश प्रदेश सम्मेलनको बन्द सत्र छलफलमा पार्टी सुधार र जनजीविकाका सवालमा विभिन्न ११ एजेन्डाले प्राथमिकता पाएका छन्।

प्रदेश सम्मेलनमा पास गरेर आगामी पार्टीको संविधानसभा (महासमिति बैठक)मा पेस गरेर विधान संशोधन प्रस्तावको रूपमा लैजानका लागी पार्टीको प्रदेशसभामा ती एजेन्डाहरूले प्राथमिकता पाएका हुन्।

नेपाली कांग्रेस पार्टी लाई नयाँ चुनौतीहरूको सामना गर्न तथा युवा पुस्ताको आकर्षण र सहभागिता सुनिश्चित गर्न ठोस र प्रभावकारी प्रस्तावहरू अगाडि सारेको पार्टी सभापति इद्र बाँनियाले जनाकारी दिए।

बदलिएको कांग्रेस र बलियो कांग्रेसको सार्थकता दिनका लागी पहिलो नम्बरमा भ्रष्टाचार विरुद्ध निर्मम भएर सुशासनका पक्षमा नेतृत्वदायी भूमिका खेल्ने प्रदेशसभाले प्रस्ताव अघि सारेको छ।

त्यस्तै सबै तहको नेतृत्व चयनमा क्रियाशील सदस्यको प्रत्यक्ष मतदानको व्यवस्था, उमेर समूहका आधारमा पार्टीका सबै संरचनामा प्रतिनिधित्व, निर्वाचनमा टिकट सिफारिसका लागी सम्बन्धित तहको कार्यसमितिले निर्णय गर्ने, स्थानीय देखि केन्द्रसम्मको संरचनामा एक महिला उपसभापति अनिवार्य गर्ने लगायतका एजेन्डामा छलफल चलिरहेको छ।

छलफलमा २०७८ सालको जनसङ्ख्या तथ्यांक अनुसार अनुसार संसदीय निर्वाचन क्षेत्र पुनरावलोकन गर्ने र संविधान अनुसार समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै संविधान र परिवर्तन सङ्घीय लोकतान्त्रिक गणतन्त्र को संरक्षण र संवर्द्धन गर्न नेपाली कांग्रेसले आवश्यक पहल र नेतृत्व गर्दै संविधान र परिवर्तन पक्षधर राजनीतिक दलहरूबीच राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्ने र संविधान संशोधनको वातावरण समेत नेपाली कांग्रेसले निर्माण गर्नुपर्ने एजेन्डा नेताहरूले अघि सारेको पार्टी प्रवक्ता तिलकप्रसाद रुवालीले बताए।

यी हुन बागमती सम्मेलनमा छलफलका एजेन्डा

१. भ्रष्टाचार विरुद्ध नेपाली कांग्रेस निर्मम रूपमा प्रस्तुत भै भ्रष्टाचार नियन्त्रण र सुशासन मा नेतृत्व दायी भूमिका खेल्ने ।

२ . सबै केन्द्रीय पदाधिकारी र सदस्यहरू आ आफ्नो निर्वाचन क्षेत्र बाट नै महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निर्वाचित भएर आउनु पर्ने ।

३. नेपालको संविधान अनुसार सबै क्लस्टरको प्रतिनिधित्व सुनिश्चित गर्दै उमेर समूह बाट केन्द्रीय समिति लगायत सबै तहका कार्यसमिति मा प्रतिनिधित्व सुनिश्चित गराउने । २० – ४० वर्ष उमेर समूहबाट – ३० % ४०– ६० वर्ष उमेर समूहबाट – ३० % र ६० – ८० वर्ष उमेर समूहबाट – ४० %

४. सङ्घ , प्रदेश र स्थानीय तहको निर्वाचन नेपाली कांग्रेस पार्टी को तर्फबाट उम्मेदवार चयन गर्दा जुन तहको निर्वाचन हुने हो त्यही तहको पार्टी कार्यसमितिको निर्णय नै अन्तिम हुने । निर्णय हुन नसके मा वा चरम विवाद भएमा मात्रै माथिल्लो निकायले निर्णय दिने ।

५. पार्टी क्रियाशील सदस्य वितरण र नवीकरण सदा खुल्ला , पारदर्शी र स्वैच्छिक बनाइ हरेक वर्ष असारमा अनलाइन बाट नै वितरण र नवीकरण गर्ने गराउने प्रबन्ध मिलाउने।

६ महाधिवेशन हुने सालको वैशाख –१ गतेबाट महाधिवेशन सम्पन्न नभए सम्म क्रियाशील सदस्य वितरण बन्द गर्ने।

७ केन्द्रीय कार्यसमिति को सङ्ख्या – २२५ र कार्यसम्पादन समिति को सङ्ख्या – ६१ पुर्‍याउने।

८ केन्द्रीय कार्यसमिति लगायत सबै तहका समितिहरूमा एक जना महिला उपसभापति र एक जना महिला महामन्त्री वा सचिव को पद थप गर्ने।

९ .दुबैतहको समानुपातिक निर्वाचन प्रणाली खारेज गर्ने।

१०. प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचित सदस्य सङ्ख्या – २४५ राख्ने।

११. राष्ट्रिय सभा सदस्य सङ्ख्या – ९९ राख्ने।

प्रतिक्रिया दिनुहोस्