लक्ष्मणबहादुर कर्माचार्यप्रति अन्तिम श्रद्धाञ्जली अर्पण



काठमाडौं ।

नेकपा माओवादी केन्द्रका समर्थक लक्ष्मणबहादुर कर्माचार्यको ९६ वर्षको उमेरमा गएराति निधन भएको छ। ललितपुरको कुम्भेश्वर निवासी उनी नेकपाका संस्थापक मध्येका एक स्व.नरबहादुर कर्माचार्यको सहोदर भाइ हुन् । साथै माओवादी केन्द्र, ऊर्जा विभागकी सदस्य एवम् नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनकी केन्द्रीय सदस्य सुसन कर्माचार्यका पिता समेत हुन् ।

आजै पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली सहित कर्माचार्यको अन्त्येष्टि गरिएको छ। त्यसक्रममा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्माचार्यको पार्थिव शरीरमा कम्युनिस्ट पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल सहितका नेता, कार्यकर्ता र आफन्तजन श्रद्धाञ्जलीका लागि उपस्थित थिए।

वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले कर्माचार्यप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । ललितपुरको कुम्भेश्वरस्थित उनको घर करिब नौ दशकदेखि लोकतान्त्रिक एवम् कम्युनिस्ट आन्दोलनको एउटा महत्त्वपूर्ण केन्द्र रहँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्