भुकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माण गर्दै सशस्त्र प्रहरी



काठमाडाैं ।

सशस्त्र प्रहरी बल नेपालले पश्चिम रुकुमका भुकम्प प्रभावितका लागि हाल सम्म १६ वटा अस्थायी टहरा निर्माण गरेको छ । जस अन्तर्गत चौरजहारी नगरपालिकामा ९ र त्रिबेणी गाउंपालिकामा ७ वटा निर्माण गरिएका छन् ।

विशेष गरी एकल महिला , अपांगता भएका , वृद्धअवस्थाका , बिरामी , बिपन्न र सुत्केरीको बर्ग विभाजन गरी उनीहरु लक्षित अस्थायी आवास निर्माण गरिएको हो ।

सो अनुसार एकल महिलाको लागि ५ , अपांगता भएकाको ४ , वृद्धअवस्थाको ३ , बिरामीको ३ र विपन्न तथा सुत्केरीको लागि १/१ वटा अस्थायी आवास निर्माण सम्पन्न भएका सशस्त्र प्रहरी बलका सह प्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । अस्थायी आवास निर्माणका लागि गत मंसिर २८ गते बाट सशस्त्र प्रहरी बलको फौज चौरजहारी नगरपालिका र त्रिबेणि गाउँपालिकामा अस्थायी रुपमा बस्ने गरी तैनाथ गरिएको छ ।

यसका साथै जिल्लाको आठबिसकोट नगरपालिका र सानिभेरी गाउँपालिकामा अस्थायी आवास निर्माणका लागि छिटै फौज परिचालन गरिने छ । यसैगरी मुसिकोट नगरपालिकामा समेत स्थानीय जनप्रतिनिधि र जिल्ला विपद् व्यवस्थापन समिती संगको आवश्यक समन्वयमा अस्थायी आवास निर्माणमा सहयोग आवश्यक पर्ने भुकम्प पीडितको पहिचान गरी फौज परिचालन गर्ने योजना रहेको छ ।

यता भुकम्प प्रभावित जिल्ला जाजरकोटमा पनि आश्रीत गुल्म जाजरकोटले अस्थायी पाल जडान गर्ने , भत्किएका विद्यालय तथा स्थानियको घरको भग्नाबशेष हटाउने तथा चर्किएको घरहरु भत्काउने कार्यलाई तिब्रता दिएको समेत सह प्रवक्ता डिएसपी थापले बताए । जस अन्तर्गत डिजास्टर रिलिफ सिस्टम १० सहित ८५ वटा पाल जडान गरिएका छन् । यस्तै भेरी नगरपालिकामा १ सय , नलगाड नगरपालिकामा १ सय १८ ,र कुशे गाउँपालिकामा २५ स्थानका भग्नावशेष हटाइएका छन् । चर्किएका ८ वटा घर समेत भत्काइएको छ ।

प्रतिक्रिया दिनुहोस्