महाभारत र खानीखोलाको जनमुक्ति मार्गमा धमाधम ‘सडक र पुल’, व्यवसायी महाभारतका ज्वाँई होइन: अध्यक्ष जिम्बा



काभ्रे । 
२०७४ को स्थानीय तह निर्वाचन अघि काभ्रेपलान्चोक जिल्लाका दुई पालिका खानी खोला र महाभारत पुग्न मुस्किल थियो । छिमेकी जिल्ला सिन्धुली हुँदै महाभारत र मकवानपुर तथा ललितपुर हुँदै खानी खोला जानु पर्ने अवस्थाको अन्त्यका लागि स्थानीय तहको सुरुवातीसँगै सक्रियता रह्यो ।
जनप्रतिनिधिको सक्रियताले आफ्नै जिल्लाको भू–भाग प्रयोग गरेर महाभारत र खानी खोला जान पाउने नागरिकहरूको आशालाई निर्माण व्यवसायीको ढिलासुस्तीले निराशा बढाउन थालेको छ । ‘महाभारत र खानी खोलामा निर्माणाधीन सडक तथा पुलको पटक पटक अनुगमन गरिएको छ’–बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलालले भने–‘अर्थमन्त्रीले चालु आर्थिक वर्ष भित्र कार्य सम्पन्न नभएका यस अघि पटक पटक म्याद थपिएका आयोजनाहरू खारेज हुने वक्तव्यसँगै महाभारत र खानी खोलामा निर्माण हुँदै गरेका सडक र पुलका निर्माण व्यवसायीलाई कालो सूचीमा राख्ने बाटो खुल्ला हुनेछ ।’
तिन खुट्टे देविटार सडक खण्ड निर्माणको अवधि सकिएको १७ महिना बितिसकेको छ । दुई पटक समयावधि थप्दा पनि निर्माण कार्यमा आलटाल गरेको भन्दै गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले ढिलासुस्ती गरी विकासको सपनालाई भताभुङ्ग पार्ने व्यवसायी महाभारतका ज्वाँई नभएकाले नागरिकले सहज रूपमा नलिने चेतावनी दिए ।
‘निर्माणको जिम्मेवारी प्राप्त गरेका व्यवसायीहरूले समयमै कार्य सम्पन्न गर्नुस् । महाभारतबासीहरुको विकासको सपनामा बाधक नबन्नुस् । तपाईँहरू महाभारतका जनताको ज्वाइँ होइन’–अध्यक्ष जिम्वाले भने–‘विकास निर्माण समयमै नगरी अवरुद्ध गर्ने कार्य तत्काल बन्द गरी थपिएको समयको बाँकी अवधि भित्रै कार्य सम्पन्न गर्नुस् ।’
उता खानी खोला गाउँपालिकामा २०७३ सालमा साबिक जिल्ला विकास समिति हुँदै बागमती खोलामा बोलपत्र गरिएको पुल निर्माण कार्य अलपत्र छ । मन्त्री युवराज दुलालले उक्त सडक र पुलको अवलोकन पटक पटक गरिसकेका छन् । समयमै कार्य सम्पन्न नगर्ने पुल र सडकका निर्माण ब्यवसायीहरुलाई भेटेरै मन्त्री दुलालले अन्तिम मौका भएको चेतावनी दिएका छन् । ७ वर्षमा उक्त पुल निर्माणको कार्य ३० प्रतिशत मात्रै भएको छ । उक्त पुलको म्याद पनि अन्तिम पटक असार मसान्तसम्मका लागि थपिएको छ ।
उक्त अवधि भित्र नसकिए उक्त कम्पनीलाई कालो सूचीमा राखेर कारबाही गर्ने मन्त्री दुलालले बताए । मन्त्री दुलालले बागमती खोलामा बन्दै गरेको पुल, देविटार तिन खुट्टे सडक, तीनखुट्टेमा निर्माण हुँदै गरेका पुल, राष्ट्रिय प्रसारण लाईनको विद्युत्त, तिन खुट्टे–किल्ला हुँदै बुढा खानीको सडक अवलोकन गरेका थिए । बुढा खानी तिन खुट्टे सडक निर्माण भने द्रुत गतिमा भइरहेको छ ।
मन्त्री दुलालले आयोजनाहरूको अनुगमन सँगै खानी खोला गाउँपालिका वडा नम्बर ६ र ५ जोड्ने सडक पुल, जनमुक्ति मार्गको देविटार–घर्तीछाप–गोकुले–छोटेसाहान–भोर्लेनी सडक खण्ड (चेनेज ०.००० किमी देखि ९.३८० किमी देविटार देखि गोकुले लबडाँडा सम्म कालोपत्रे सहित) र देविटारमा रहेको वनखुखोला सडक पुलको शिलान्यास गरेका छन् । जनमुक्ति मार्गमा ललितपुर र काभ्रेपलान्चोक जोड्ने दुर्लुङ्गखोला पुल पनि निर्माण हुने भएको छ । तीन वटा पुल निर्माणको जिम्मेवारी एउटै कम्पनीले प्राप्त गरेको छ ।
कार्यक्रममा मन्त्री दुलालसँगै, बागमती प्रदेश सांसद रत्न ढकाल, महाभारत गाउँ पालिकाका अध्यक्ष कान्छालाल जिम्बा, खानी खोला गाउँपालिका अध्यक्ष इन्द्र थिङ, उपाध्यक्षहरू सागर मोक्तान र दोर्जेमान जिम्बा, वडा अध्यक्षहरू, पूर्वाधार कार्यालय धुलिखेलका प्रमुख राजु श्रेष्ठ लगायत स्थानीयको उपस्थिति रहेको थियो । आयोजना शिलान्यास तथा आधा दर्शन आयोजना निरिक्षण गर्दै मन्त्री दुलाले जिल्लाकै विकट क्षेत्रको पहिचान बनाएको खानी खोला र महाभारत गाउँपालिका सुगम बन्दै गएको बताएका छन् । विगतमा पछाडि परेका र पारिएका क्षेत्रमा विकासले फड्को मारेको बताए ।
खानी खोला गाउँपालिका वडा नम्बर ६ र ५ जोड्ने सडक पुल निर्माणसँगै वर्षाको समयमा नाकाबन्दीमा पर्ने खानी खोला गाउँपालिकामा आवतजावतमा सहज हुने गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । भ्याट सहित ५ करोड ८२ लाख ९७ हजार ५ सय ६५ रुपैयाँमा निर्माण सम्झौता भएको हो । जय बागेश्वरी ए.एल.इज.वेल अल्फ हेक्स जे.भी.काठमाण्डौले निर्माणको जिम्मा पाएको छ । सम्झौता अन् सार २ वर्ष अर्थात् २०८२ असोज २४ गते सम्पन्न गर्नु पर्नेछ । यस्तै जनमुक्ति मार्गको देविटार–घर्तीछाप–गोकुले–छोटेसाहान–भोर्लेनी सडक खण्ड (चेनेज ०.००० किमी देखि ९.३८० किमी देविटार देखि गोकुले लबडाँडा सम्म कालोपत्रे सहित) को पनि शिलान्यास गरिएको छ । मन्त्री दुलालले उक्त सडकखण्डको शिलान्यास गरेका हुन् ।
सन्तोषी-धर्म एस.जे.भी ले उक्त सडक निर्माणको जिम्मा पाएको छ । भ्याट सहित ३९ करोड ७४ लाख ५५ हजार १८ रुपैयाँमा निर्माण सम्झौता भएको हो । २०८० असोज ४ गते १८ महिना अर्थात् २०८१ साल चैत ३ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ । यस्तै महाभारत गाउँपालिका वडा नम्बर १ र ३ जोड्ने गरी बनखु खोलामा पुल निर्माण हुने भएको छ । मन्त्री दुलालले उक्त पुलको शिलान्यास गरेका हुन् ।
जय बागेश्वरी ए.एल.इज.वेल अल्फ हेक्स जे.भी.ले भ्याट सहित ७ करोड ७ लाख ९९ हजार ९ सय ४६ रुपैयाँमा पुल निर्माणको ठेक्का हात पारेको छ । २०८० असोज २५ गते पुल निर्माण सम्झौता भएको थियो । २०८२ असोज २६ गतेभित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । पुल र सडक निर्माणले जिल्लाको विकट महाभारत क्षेत्रको समृद्धिमा ठुलो योगदान गर्ने महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले बताए ।
मन्त्री दुलाल सहित पूर्व मन्त्री एवं प्रदेश सांसद रत्न ढकाल, खानी खोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ, उपाध्यक्ष दोर्जेमान जिम्बा लगायतले पुलको निरिक्षण गरेका हुन् । मन्त्री दुलालले पुल निर्माण अत्यन्तै सुस्त गतिमा भएको भन्दै थपिएको समयमा छिटो पुल निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् । यस्तै उनले आवश्यक सहजिकरणका लागि मन्त्रालय तयार रहेको बताए । गाउँपालिका अध्यक्ष थिङले भने खानी खोला, महाभारत क्षेत्रलाई प्रदेश राजधानी हेटौँडासँग जोड्ने उक्त पुल निर्माण नहुँदा सास्ती खेप्नु परेको गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्