एमाले समृद्धिको अभियानकर्ता सामाजिक रूपान्तरणमा योग्य हुनुपर्छ : शंकर पोखरेल



काठमाडौं ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेका नेता कार्यकर्ता सामाजिक रूपान्तरणका अभियानकर्ताको रूपमा स्थापित हुनुपर्ने बताउनुभएको छ ।

शुक्रबार नेकपा एमाले कोशी प्रदेश सम्पर्क कमिटीको शपथग्रहण कार्यक्रममा बोल्दै पोखरेलले एमाले नेता कार्यकर्ता अरूभन्दा अब्बल साबित हुनुपर्ने बताउनुभयो । ‘वास्तविक कम्युनिष्टका रूपमा, समृद्धिको अभियानकर्ताको रूपमा, समाजको रूपान्तरणकर्ताको रूपमा तपाईँ हामीले आफूलाई योग्य साबित गर्नुपर्दछ’, पोखरेलले भन्नुभयो ।

नेकपा एमालेले मिसन ग्रास रुट चलाइसके पछि मिसन ग्रास रुटको प्रतिवेदको आधामा नेकपा एमालेका सबै कमिटी आफ्नो कार्य योजना बनाएर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । मिसन ग्रास रुटको प्रतिवेदन कार्यान्वयन गर्नका लागि आफ्नो कामलाई व्यवस्थित बनाएर अघि बढ्नु पर्ने पोखरेलले बताउनुभयो । त्यसो गर्न सकियो भने पार्टी संगठनलाई व्यवस्थित र सुदृढ बनाउन सकिने उहाँले प्रष्ट पार्नुभयो ।

पार्टीका जनसंगठनलाई कसरी प्रभाकारी बनाउन सकिन्छ भन्ने कुराले पनि पार्टी निर्माणमा अर्थ राख्ने उहाँले बताउनुभयो । पार्टीको रक्षाका लागि जनतासँगको सम्बन्ध थप सुधार गर्नुपर्नेमा पोखरेलले जोड दिनुभयो । नेपाल राजनीतिक सुनिश्चितताको लागि बलिया राष्ट्रिय शक्ति आवश्यक रहेको पोखरेलले बताउनुभयो । नेकपा एमालेलाई अझै पनि बलिया राष्ट्रिय शक्ति बनाउन नसकिएको उहाँको भनाइ छ ।

अब बलिया राजनीति दलले मात्र देशमा राजनीतिक निकास दिन सक्ने पोखरेलेले बताउनुभयो । ‘विकास र समृद्धिको नेतृत्वको लागि गठबन्धन होइन नीतिगत नेतृत्व आवश्यक पर्दछ, बलियो राजनीतिक दल आवश्यक पर्दछ, त्यस अर्थमा हाम्रो पार्टीले बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने शंकल्पका साथ अघि बढिरहेको छ’, पोखरेलले भन्नुभयो । नेकपा एमालेलाई अगुवा नेताको रूपमा स्थापित गर्न आवश्यक रहेको छ । मुलुकको विकास र समृद्धिको आकांक्षा बोक्ने पार्टीको रूपमा एमालेलाई जनताका बिचमा स्थापित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अहिले देशमा जातीय अधिकार र धार्मिक अधिकारका नाममा सांस्कृतिक माथि नै आक्रमण भइरहेको उहाँले बताउनुभयो । समुन्नत नेपाली संस्कृतिलाई भत्काउने प्रयत्न भइरहेको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । त्यो चुनौतीको सामना गर्न सक्ने शक्ति नेकपा एमालेले जन्माउनु पर्नेमा उहाँले जोड दिनुभयो । देशमा आर्थिक संकट बढ्दै जानु देशको लागि अर्को चुनौती भएको उहाँले बताउनुभयो । सरकारकै कारण आर्थिक संकट बढेको उहाँको भनाई छ । सरकारले सञ्चालन गरेको अवैध आर्थिक क्रियाकलापको कारण देश आर्थिक संकटमा परेको उहाँले बताउनुभयो । यसको अन्त्यको लागि एमालेकै नेतृत्व जरुरी रहेको पोखरेलको भनाइ छ ।

सरकारको यही गतिविधिको कारण प्रतिगमनकारी र व्यवस्था विरोधी शक्ति सलबलाएका उहाँले बताउनुभयो । नेपाली समाजमा फैलाउन खोजिएको नकारात्मक धारणालाई चिर्न नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा सफल भएको उहाँले दाबी गर्नुभयो । सो यात्राले देशको विकास र समृद्धिको लागि नेकपा एमाले नै जरुरी छ भन्ने सन्देश एमाले बाहेकका दलमा आस्था राख्ने नागरिकको सहभागिताले पनि पुष्टि गरेको उहाँले बताउनुभयो । यात्राले राष्ट्रको कला संस्कार र सांस्कृतिक पहिचान रक्षा गर्ने पार्टी नेकपा एमाले भएको पुष्टि गरेको पनि उहाँले दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्