अरनिको – मदन भण्डारी राजमार्ग जोड्ने

बनेपा–बेथान्चोक–सुकुमफेदी–झुरझुरे खण्डको ढुंखर्कमा पुल शिलान्यास



काभ्रे  ।

बेथान्चोक गाउँपालिका वडा नम्बर २ स्थित पाटनेखोला साँघुको मुख ढुंखर्क पुल निर्माण कार्यको शिलान्यास गरिएको छ । नयाँबस्ती दुर्लुङखोला सडक स्तरोन्नति कार्यको पनि पुलसँगै शिलान्यास गरिएको छ ।

सहरी विकास मन्त्री सिता गुरुङले मोटरेवल पुलको शिलान्यास गरेकी हुन् । उक्त पुल निर्माणसँगै प्रस्तावित सहायक राजमार्ग बेथान्चोक गाउँपालिकाको ढुंखर्क–च्याम्ब्राङ्गबेशी–सुकुमफेदी–सालघारी–हुचिटार–अँघेरी–झुरझुरेसम्मको सडक निर्माणले गति लिएको छ । चालु वर्षका लागि उक्त सडक निर्माणमा विभिन्न शीर्षकमा २ करोड ७५ लाख रकम विनियोजन भएको छ । पुल निर्माणसँगै उक्त सडक खण्ड निर्माण कार्यले गति लिएको हो । उक्त खोलामा बन्ने पुल २० मिटर लामो हुनेछ ।

भ्याटसहित ४ करोड ५६ लाख ६४ हजार १ सय ३२ रुपैयाँको लागतमा उक्त पुल निर्माण हुनेछ । सडक डिभिजन कार्यालय भक्तपुर मार्फत २०८० कार्तिक २३ गते सम्झौता भएको आयोजना २०८१ कार्तिक २२ गते सम्पन्न हुने गरी खम्पाचे–गोल्मादेवी इन्जिनियरिङ जेभीले ठेक्का लिएको छ । आर.सि.सि.पुल निर्माणका अलावा क्याबिन वाल र पहुँच मार्गको काम सँगै हुनेछ ।

ढुंखर्क–च्याम्ब्राङ्गबेशी–सुकुमफेदी–सालघारी–हुचिटार–अँघेरी–झुरझुरेसम्मको सडकलाई सहायक राजमार्गका रूपमा प्रस्तावित गरिएको सहरी विकास मन्त्री सिता गुरुङले बताइन् । बेथान्चोकको पाट्ने खोला साँघुको मुख ढुंखर्क पुल निर्माणको शिलान्यास गर्दै मन्त्री गुरुङले प्रदेशको राजधानी जोड्ने उक्त सडकलाई वैकल्पिक राजमार्गका रूपमा मन्त्रालयले प्रस्ताव गरेको उनले बताइन् ।

‘अरनिको राजमार्ग देखि मदन भण्डारी राजमार्ग जोड्ने सडक बनेपा–पनौती–बेथान्चोक हुँदै मकवानपुरको झुरझुरे जोड्ने सडक प्रस्तावित वैकल्पिक राजमार्गका रूपमा राख्ने निर्णय भएको छ’–मन्त्री गुरुङले भनिन–‘स्थानीय तहका जनप्रतिनिधि, प्रदेश र संघ सरकारका प्रतिनिधिहरूले उक्त मार्ग प्रदेश राजधानी जान सहज हुने भएकाले तत्काल निर्णय गरी कार्य अघि बढाउन निर्देशन दिए अनुसार मन्त्रालय र विभागले निर्णय गरेको छ ।’

 

अध्यक्ष भगवान् अधिकारीले बेथान्चोकलाई शिक्षा, सडक, पुल, सिंचाई, पर्यटन, कृषि तथा पशुपालनबाट समृद्ध बनाउने अभियानमा सक्रिय रहेको बताए । उक्त सडक निर्माण कार्यको प्रारम्भ भएसँगै बेथान्चोकलाई दुई मार्गको बिचमा सहज र सरल यात्राका लागि वैकल्पिक मार्ग बनाउने प्रयास सफल भएको बताए ।

बेथान्चोकबाट उक्त स्थानसम्म सडकको एकहोरो ट्रयाक खोलिसकिएको बेथान्चोक गाउँपालिकाका निर्वतमान अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बताए । उक्त खण्डको लम्बाई ३८ किमी छ । बागमती खोलामा पुल बनाउँदा सडक प्रदेश राजधानी पुग्न सहज हुने उनले बताए ।

प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे, गाउँपालिका अध्यक्ष भगवान् अधिकारी, निर्वतमान अध्यक्ष प्रेमबहादुर तिमल्सिना, उपाध्यक्ष तारा राना तिमल्सिना, वडा अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले उक्त सडक र पुलको निर्माणले प्रदेश राजधानीसँग जोडिने मार्ग सहज हुने बताए । सोही अवसरमा बस्ती विकास कार्यक्रम अन्तर्गत वडा नम्बर २ र ३ को प्रस्तावित कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्