नेपाल–बेलायत मैत्री सन्धिको सय वर्ष पूरा

सन्धिमा हस्ताक्षर भएकै स्थानमा दोहोर्‍याइयो मित्रताको प्रतिबद्धता



काठमाडौं ।

नेपाल र बेलायतले एक सय वर्षपछि बिहीबार पुनः त्यही स्थानमा उभिएर सय वर्ष पुरानो मैत्री सम्बन्धलाई अझै उचाइमा पुर्‍याउने प्रतिबद्धता दोहोर्‍याएका छन्।

नेपाल–बेलायत शान्ति तथा मैत्री सन्धिको १००औं वर्षगाँठको अवसरमा परराष्ट्र मन्त्रालयले सिंहदरबारको बेलायती बैठकमा आयोजना गरेको समारोहमा दुवै पक्षबाट शताब्दी पुरानो मैत्री सम्बन्धलाई अझै उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिएको हो।

आजभन्दा ठीक सय वर्षअघि सन् १९२३ डिसेम्बर २१ मा तत्कालीन श्री ३ महाराज चन्द्रशम्शेर राणा र बेलायतका राजदूत लेफ्टिनेन्ट कर्णेल विलियम फ्रेडरिक ट्राभर्स ओकनरले सिंहदरबारको यही बेलायती बैठकमा नेपाल–बेलायत शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर गर्नुभएको थियो।

जुन सन्धिले नेपाललाई एक स्वतन्त्र र सार्वभौम राष्ट्रको रूपमा स्थापित गरेको थियो। समारोहमा परराष्ट्रमन्त्री एनपी साउदले अफ्रिका–एसियाका धेरै देशहरू राजनीतिक स्वतन्त्रता र उपनिवेशीकरणविरुद्ध संघर्ष गरिरहेका बेला सानो देश नेपालले त्यति बेलाको महाशक्ति ग्रेट ब्रिटेनसँग सन्धिमा हस्ताक्षर गर्नु गौरवको विषय भएको बताउनुभयो।

उहाँले नेपाल र संयुक्त अधिराज्यबीच दुई शताब्दीअघि सन् १८१६ मा सुगौली सन्धिमार्फत् कूटनीतिक सम्बन्ध स्थापित भएको स्मरण गर्दै यो मैत्री सन्धिले दुई देशबीचको चिरस्थायी मित्रता र विश्वासलाई सुदृढ बनाएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘नेपालले एक सय वर्षअघि गरेको मैत्री सन्धि विगतमा गरिएको बलियो अन्तर्राष्ट्रिय संयन्त्र भएको छ ।’

नेपालले समानताका आधारमा सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र राष्ट्रको रूपमा उक्त सन्धिमा हस्ताक्षर गरेको उल्लेख गर्दै मन्त्री साउदले विगत सय वर्षहरूमा बेलायतसँग नेपालको सम्बन्ध धेरै गुणा बढेको र धेरै क्षेत्रमा विस्तार भएको जिकिर गर्नुभयो।

उहाँले बितेका वर्षहरूमा राजनीतिक संवाद, आर्थिक साझेदारी, व्यापार र लगानी, पर्यटन, विदेशमा रहेका नेपाली, ब्रिटिस गोर्खा र जनता–जनताबीचको सम्बन्धका अन्य आयामहरू विस्तार भएको उल्लेख गर्दै भन्नुभयो– ‘बेलायत नेपालको लामो समयदेखि विकास साझेदार रहेको छ। बेलायतले अनुदान सहायतामा वर्षौंदेखि नेपाललाई प्रमुख द्विपक्षीय विकास साझेदारहरूको सूचीमा राखेको छ । हाम्रा दुई देशबीच द्विपक्षीय व्यापार, पर्यटन र लगानी बढ्दै गएकोमा हामी खुसी छौँ।’

कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रोब फेनले दुई देशबीचको मैत्रीसन्धिका कारण नेपाल कहिल्यै पराधीन नभएको बताउनुभयो।

उहाँले नेपालीमै सम्बोधन गर्दै भन्नुभयो– ‘सय वर्षमा अति कम परिचित नेपाल अहिले राम्रोसँग चिनिएको र धेरै मन परेको देशको रूपमा रूपान्तरण भएको छ।’

उहाँले विश्वका उदीयमान दुई छिमेकी भारत र चीनबीचमा रहेको नेपालले ती देशले गरेका आर्थिक प्रगतिबाट लाभ लिन सक्नुपर्ने धारणा व्यक्त गर्दै नेपालको भविष्य उज्ज्वल रहेको बताउनुभयो।

परराष्ट्र सचिव सेवा लम्सालले बेलायतसँगको शान्ति तथा मैत्री सन्धिपछि नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार भएको र सन्धिपछि बेलायतले काठमाडौंमा पहिलो राजदूतावास स्थापना गरेको बताउनुभयो।

नेपाल–बेलायतबीचको मैत्रीसन्धि द्विपक्षीय सम्बन्धका लागि महत्वपूर्ण भएको बताउँदै उहाँले बेलायत नेपालको मुख्य विकास साझेदारका रूपमा रहेको उल्लेख गर्नुभयो।

नेपाल–बेलायत शान्ति तथा मैत्री सन्धिको शताब्दी पूरा भएको स्मरणमा यो वर्ष दुवै देशमा विभिन्न कार्यक्रम र गतिविधिहरू आयोजना भएको जानकारी दिँदै परराष्ट्र सचिव लम्सालले यसअघि मन्त्रालयले काठमाडौंको ऐतिहासिक हनुमानढोका दरबार स्क्वायरमा पनि कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्