कांग्रेसभित्र मर्यादा विवाद उत्कर्षमा



काठमाडौं ।

सरकारको मुख्य सहयात्रीसमेत रहेको संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र मर्यादा विवाद उत्कर्षमा पुगेको छ।

पार्टीको आन्तरिक कार्यक्रममा नेताहरूबीच को सिनियर भन्ने विषयमा हुने गरेको विवाद पछिल्लो समयसम्म आइपुग्दा सार्वजनिक रूपमै छताछुल्ल भएको हो।

पार्टीमा सभापतिपछिको दोस्रो वरीयतामा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति भएसँगै वरीयताक्रममा रहने वरिष्ठ नेता खाली भएपछि शेरबहादुर देउवासँगै १४औं महाधिवेशनमा सभापतिको प्रतिस्पर्धा गरेका नेता डा. शेखर कोइरालाले वरिष्ठताको दाबी गर्दै आउनुभएको छ।

गत भदौमा भएको केन्द्रीय समितिको बैठकमा सभापति देउवाले नेता कोइरालालाई वरिष्ठ नेताको जिम्मेवारी दिने बताए पनि हालसम्म उक्त स्थान खाली छ।

अहिले सभापतिपछि वरीयताक्रममा उपसभापति पूर्णबहादुर खड्का रहेका छन्। पार्टीको प्रस्तावित वरीयता क्रमअनुसार पहिलोदेखि पाँचौं स्थानसम्म वर्तमान सभापति देउवा मात्रै पर्नुहुन्छ।

त्यसपछि केन्द्रीय पदाधिकारी र पूर्व पदाधिकारीहरू रहनेछन्। तर, पार्टीका प्रायः सबै कार्यक्रममा सभापतिपछिको मर्यादामा नेता कोइरालालाई नै विशेष अतिथिका रूपमा स्थान दिने गरेका छन्।

प्रस्तावित वरीयता क्रममा नवौं स्थानमा राखिएका नेता कोइरालालाई पार्टीका हरेक कार्यक्रममा आफूभन्दा माथि राख्ने नजिर बसाउन थालेपछि उपसभापति पूर्णबहादुर खड्का कोइराला गएको कार्यक्रममा जान छाड्नुभएको छ। कोइराला पनि सभापतिभन्दा दोस्रो मर्यादामा आफूलाई नराखेको कार्यक्रममा सहभागी हुन छाड्नुभएको छ ।

त्यस्तै, वरीयता क्रममा पदाधिकारीपछि प्रस्ताव गरिएका पूर्वउपसभापतिहरू समेत यस विषयमा असन्तुष्ट छन्। बिहीबार जनकपुरमा भएको कांग्रेस मधेस प्रदेशको पहिलो सम्मेलनमा मर्यादा विवाद सार्वजनिक रूपमै छरपस्ट भयो।

पार्टीका पूर्वउपसभापतिसमेत रहेका कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिले आफ्नै भूमिमा गरिएको पार्टी कार्यक्रमको मञ्चमा बोल्न पाउनुभएन।

सो कार्यक्रममा सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ र महामन्त्री गगन थापाले मात्रै कार्यक्रमलाई सम्बोधन गरे।

वरीयता क्रममा असन्तुष्टि जाहेर गरेका नेता निधि आसन ग्रहणका क्रममा मञ्चमा बोलाइए पनि मञ्चमा नगई दर्शकदीर्घामा बस्नुभयो।

कार्यक्रममा मर्यादाक्रम मिचेर नेताहरूको आसनग्रहण गराइएको भन्दै निधि मञ्चमा जान नमानेका नेपाली कांग्रेस मधेस प्रदेशका नेताहरूले बताएका छन्।

प्रदेश महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठले नेताहरूलाई मञ्चमा आसनग्रहणका लागि पटक–पटक नाम लिएर आग्रहका लागि अनुरोध गरे पनि उहाँ मञ्चमा नगएको कार्यक्रममा सहभागी नेताहरूले बताए।

सोही कारण नेता शेखर कोइराला पनि मधेस प्रदेशको सम्मेलनमा जानुभएको छैन। नेता कोइरालाले मर्यादाक्रममा पदाधिकारी पछि राख्ने योजनाको सुइँको पाएपछि कार्यक्रममै सहभागी नभएको उहाँ निकट स्रोतको दाबी छ।

‘कोइरालालाई मर्यादामा दोस्रो स्थानमा राख्दा उपसभापति पूर्णबहादुर खड्का सहभागी हुने अवस्था थिएन’, कांग्रेस मधेस प्रदेशका एक पदाधिकारीले भने– ‘सभापति देउवापछि वरीयता (विशिष्ट अतिथि) नबनाएको भन्दै कोइराला पक्षका ८ जना नेताले बुधबारको बैठकमा फरक मत राखेको थिए।’

कांग्रसको मर्यादा विवादले पार्टीका हरेक कार्यक्रम सञ्चालनमा असहज भएको र नेता कार्यकर्ताबीच आन्तरिक धु्रवीकरण बढ्दै गएको केन्द्रीय सदसय प्रतिमा गौतमले बताउनुभयो।

पार्टीको आन्तरिक विवादका सन्दर्भमा कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री प्रकाशशरण महतले पार्टीमा एकता र सहिष्णुताको आवश्यकता रहेको बताउनुभयो।

उहाँले भन्नुभयो–‘पार्टीमा एकताको आवश्यकता छ। छलफल र सहिष्णुता चाहिएको छ। पार्टीमा सबै पुस्ताको एकीकृत भएर पार्टी बलियो बनाउनुपर्ने अवस्थामा हामी छौं।’

प्रस्तावित वरीयताको मस्यौदामा के छ ?

पार्टीको प्रस्तावित वरीयताक्रमको मस्यौदाअनुसार एकदेखि पाँचौंसम्ममा शेरबहादुर देउवा मात्रै पर्ने देखिन्छ। वरीयताक्रममा एकदेखि पाँँचौं क्रमशः केन्द्रीय सभापति, पूर्वकेन्द्रीय सभापति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र संसदीय दलका नेता रहने व्यवस्था गरिएको छ।

जसमा देउवाबाहेक अरू नेता कांग्रेसमा छैनन्। त्यसपछि केन्द्रीय पदाधिकारी, संसदीय दलका पूर्वनेता, पूर्वकेन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, राष्ट्रियसभा दलका नेता, प्रदेश सभापतिसहित १२१औं वरीयताक्रम निर्धारण गरिएको छ।

१२० औंमा क्रियाशील सदस्य र १२१औंमा नेपाली कांग्रेस सदस्य रहने उल्लेख छ। यसमा शेखर कोइराला पक्ष असन्तुष्ट छ।

प्रतिक्रिया दिनुहोस्