‘यौनकर्मीको मानव अधिकार रक्षाको लागि नीति निर्माण आवश्यक’



काठमाडौं । 

यौन व्यापारका सम्बन्धमा पछिल्लो समय समाज खुल्दै गए पनि अझै यो पेशा कानुनी हो कि गैरकानुनी हो भन्ने स्पष्ट छैन । लुकीछिपी रुपमा यौन व्यापार फस्टाउँदै गएको छ भने स्पष्ट नीतिको अभावमा स्वेच्छा र बाध्यता दुबै कारणले यौन व्यापारमा लागेका यौनकर्मीहरु भने संविधानले दिएको मौलिक अधिकारबाट समेत बञ्चित हुनु परिरहेको छ ।

यौन व्यापार विकराल समस्याको रुपमा रहेको छिमेकी मुलुक भारतमा हालै मात्र स्वेच्छाले यौन व्यापार गर्ने यौनकर्मीको कामलाई वैधानिकता दिइएको छ । गत वर्षको जेठमा भारतको सर्वोच्च अदालतले यौनकर्मीलाई पनि सम्मानजनक जीवन बाँच्ने अधिकार रहेको स्पष्ट पार्दै आदेश जारी गरेको थियो। आदेशमा भनिएको थियो– ‘यस देशका हरेक नागरिकलाई संविधानको अनुच्छेद २१ अनुसार सम्मानजनक जीवन बाँच्न् अधिकार छ । यौनकर्मीलाई गिरफ्तार गरी दुःख दिने काम नगर्नु । आफ्नो इच्छामा यौनकर्मी बन्नु अवैध होइन, केवल वेश्यालय चलाउनु गैरकानुनी हो ।’

नेपालमा पनि यौनकर्मीको कामसम्बन्धी स्पष्ट नीति नियम तथा कानुन नहुँदा यौनकर्मीहरु सामान्य मानवअधिकारबाट समेत बन्चित हुनुपरेको सरोकारवालाहरुले बताएका छन् । कम्युनिटी एक्सन सेन्टर (सीएसी ) नेपालले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा यौनकर्मीका साथै उनीहरुको अधिकारका लागि वकालत गर्दै आएका गैरसरकारी संस्थाका प्रतिनिधिका साथै त्यो क्षेत्रमा काम गरिरहेका अधिवक्ताहरुले स्पष्ट नीतिको अभावमा यौनकर्मीहरु आधारभूत अधिकारबाट बञ्चित भइरहेको बताए ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार सबैका लागि समान भएको जिकिर गर्दै यौनकर्मीको मानव अधिकार रक्षाका लागि नीति बनाएर अघि बढ्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो । उहाँले भन्नुभयोे– ‘योजना आयोगले यौनकर्मीहरुका बारेमा अध्ययन गरेर प्रतिवेदन तयार गरिसकेको अवस्था छ । अब त्यसको अध्ययन गरेर कस्तो खालको नीति बनाउनुपर्ने हो छलफल गरौं । आयोग तपाईहरुसँग सहकार्य गरेर अघि बढ्न तयार छ ।’

कार्यक्रममा सीएसी नेपालका प्रमुख तुलसालता अमात्यले यौनकर्मीहरुलाई आत्मनिर्भर बनाउन आवश्यक रहेको जिकिर गर्दै सीएसी नेपालले बाध्यताले यौनकर्ममा लागेकाहरुलाई सिलाइबुनाइ, कृषि, बाख्रा पालन, ब्युटि पार्लरलगायतका शीपमुलक तालिम प्रदान गर्दै आय आर्जनका लागि सहयोग गर्दै आएको जानकारी दिनुभयो ।

उहाँले यौनकर्मीहरुलाई आफ्नो पेशा त्याग भन्ने अधिकार आफूसँग नभएको तर बाध्यताले यो पेशामा लागेकाहरुलाई आय आर्जनको बैकल्पिक आधार दिन तथा यौनकर्मीहरुको अधिकार प्राप्तिको लडाईमा सहयोग गर्न सीएसी नेपालले हरसम्भव प्रयास गरिरहेको बताउनुभयो । कार्यक्रममा उहाँले युन वुमनको सहयोगमा सीएसी नेपालले ‘एड्भान्सिङ दि राइट्स अफ इन्डिभिजुयलस् इन्गेज्ड अफ सेक्स वक्र्स’ परियोजनाअन्तर्गत हालै मात्र मधेशको महोत्तरी जिल्लामा रहेका यौनकर्मीहरु र उनीहरुको अधिकारमा काम गर्दै आएका व्यक्ति तथा संस्थाहरुसँग भेटघाट र छलफल गरेको जानकारी पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्