सर्वोच्चकाे न्यायाधीशमा प्रस्तावित ६ जनाको नाम अनुमोदन



काठमाडौं ।

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ६ जनाको नाम अनुमोदन गरेको छ।

आज बसेको समिति बैठकले सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालकोको नाम अनुमोदन गरेको हो।

यसअघि समितिमा उनीहरूको सुनुवाइ भएको थियो। गत मङ्सिर २४ गतेदेखि सुनुवाइ भएका उनीहरू सर्वसम्मतिले अनुमोदन भएको समिति सभापति पशुपतिशमशेर राणाले जानकारी दिए।

न्याय परिषद्को मङ्सिर ५ गते बसेको बैठकले सर्वोच्च अदालतका लागि रिक्त ६ न्यायाधीशका लागि नाम सिफारिस गरेको थियो। समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त गर्ने संवैधानिक प्रावधान छ।

प्रतिक्रिया दिनुहोस्