अभिनेता पाठकको निधन



काठमाडौं ।

अभिनेता प्रकाश पाठकको ७९ वर्षको उमेरमा निधन भएको छ। खानानलीमा भएको क्यान्सरसँग जुध्दै आएका उनको मंगलबार बिहान ललितपुरको जावलाखेलस्थित निवासमा निधन भएको हो।

६ महिनाअघि मात्र उनीमा खानानलीको चौथो चरणको क्यान्सर पुष्टि भएको थियो। २००१ सालमा विराटनगरमा जन्मिएका पाठकले मायालु, तिलहरी, गोपीकृष्ण, टुहुरो, बन्धनलगायतका फिल्ममा अभिनय गरेका थिए।

फिल्म निर्माणसमेत गर्दै आएका पाठक खासगरी खलभूमिकाका लागि चर्चित थिए। उनको पार्थिव शरीरलाई मंगलबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, सल्लाहकार दिनेश डीसी, निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, महासचिव सविन श्रेष्ठ, कलाकार निर्मल शर्मालगायतले उनको पार्थिव शरीरमा कलाकार संघको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका थिए।

उनको परिवारमा श्रीमती, एक छोरा र एक छोरी छन्।

प्रतिक्रिया दिनुहोस्