कलाकर्मीका साथ स्वीकारोक्ति विश्वयात्रा



काठमाडौं ।

स्वीकारोक्ति फाउन्डेसन अमेरिकाको आयोजना र प्याब्सन काठमाडौंको सह–आयोजनामा स्वीकारोक्ति विश्व यात्रा २०२३ काठमाडौंमा शुरु भई काठमाडौंमै समापन भएको छ।

कलाकार, साहित्यकार र संगीतकर्मीको सहभागितामा सम्पन्न विश्वयात्रा हालै काठमाडौंमा साहित्यिक तथा युवा शैक्षिक शिखर सम्मेलनका साथ समापन भएको हो।

गत मंसिर ७ गते सामाजिक अभियन्ता प्रदीप घिमिरेसँगको सहकार्यमा सडक किनारमा रातको समयमा भोकै बस्न बाध्य करिब एक सय ३० जनालाई खाना खुवाएर आरम्भ भएको विश्वयात्रा मंसिर ८ गते हरियो टिसर्टसहित सेभ द अर्थ भन्ने नाराका साथ साइकल र्‍याली निकालिएको थियो। काठमाडौंपछि झापाको विभिन्न स्थानमा बृहत् कार्यक्रम गर्दै धरान पुगेर वृक्षारोपण अभियान चलाइएको थियो।

नेपालपछि सिक्किम दार्जिलिङ हु“दै भारतको आसाम गुहावटी पुगी फाउन्डेसनले साहित्यकार लीलबहादुर क्षेत्रीलाई ६ लाख रुपिया“ नगदसहित स्वीकारोक्ति सिद्धि पुरस्कार हस्तान्तरण गरेको थियो।

राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभा हलमा सम्पन्न यात्राको अन्तिम कार्यक्रममा विभिन्न विद्यालयका करिब १३ सय विद्यार्थीको सहभागिता रहेको थियो।

सिक्किम विश्व विद्यालय नेपाली विभागकी प्राध्यापक डाक्टर पुष्पा शर्माको प्रमुख आतिथ्य र स्वीकारोक्ति दर्शनका प्रवर्तक डेन्जोम साम्पाङ राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वीकारोक्ति दर्शनकी अभियान्ता तथा कलाकार शिला उप्रेतीको विशेष प्रस्तुति रहेको थियो भने सिक्किमका गायक तथा संगीतकार डाक्टर मनोज राई, गायक तथा संगीतकार सीडी विजय अधिकारी, गायक यम बराल र यश कुमारले गीत–संगीत प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्