६४ वर्षको इतिहासमा नै त्रिविको सबैभन्दा ठूलो दीक्षान्त



काठमाडौं ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार ४९औं दीक्षान्त समारोहको आयोजना गरेको देशकै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा एकैपटक धेरै विद्यार्थी सहभागी गराएर विश्व रेकर्ड हात पारेको छ।

अफिसियल वल्र्ड रेकर्डका प्रतिनिधिले समारोह स्थलमै त्रिविका उपकुलपति प्राडा शिवलाल भुसाललाई विश्व रेकर्डको प्रमाणपत्र हन्तान्तरण गरेको थियो।

प्रमाणपत्र प्राप्त गरेलगत्तै उपकुलपति प्राडा भुसालले कुलपति एवं प्रधानमनन्त्री पुष्पकमल दाहाललाई उक्त प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो।

समारोहमा दीक्षित विद्यार्थी, अभिभावक र अतिथिगरी २६ हजारभन्दा बढीको बृहत् उपस्थिति गराइएकोमा अफिसियल वल्र्ड रेकर्डले त्रिविलाई उक्त प्रमाणपत्र प्रदान गरेको हो।

अफिसियल वल्र्ड रेकर्डका प्रतिनिधिले दीक्षान्त समारोहलाई प्रत्यक्ष अवलोकन गरेको जानकारी दिँदै त्रिविका रजिस्ट्रार प्राडा पेशल दाहालले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘धेरै सहभागी उपस्थित भएको रेकर्ड कायम भएपछि वल्र्ड रेकर्डका प्रतिनिधिले उपकुलपतिलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो। त्यो प्रमाणपत्र हामीले कुलपतिज्यूलाई हस्तान्तरण गर्‍यौ। यति धेरै विद्यार्थी दीक्षित भएको विश्वविद्यालय नहोला भनेर हामीले दाबी पेस गरेको थियौं, परिणाम हात पर्‍यो।’

उहाँले त्रिविको इतिहासमै यो दीक्षान्त समारोह ऐतिहासिक भएको बताउनुभयो। समारोहमा ७३ हजार ६ सय विद्यार्थी दीक्षित हुन योग्य भएको भए तापनि प्रमाणपत्र बुझेर दीक्षित हुने विद्यार्थीको संख्या भने १२ हजार ४ सय १५ मात्रै थिए।

समरोहमा उपकुलप्रति प्राडा भुसालले विश्वविद्यालयले विश्व रेकर्ड कायम गरेकोमा खुसी व्यक्त गर्नुभयो । यद्यपि, उहाँले फरक प्रसंगमा विद्यार्थी घटेकोमा चिन्ता व्यक्त गर्दै यस विषयमा त्रिवि गम्भीर रहेको बताउनुभयो।

त्रिविले २५ वर्षमा १ लाख २ हजार अन्तर्राष्ट्रिय अनुसन्धान जर्नल प्रकाशित गरिसकेको छ। हाल करिब १ हजार १ सय आंगिक र सम्बन्धन प्राप्त क्याम्पसले ३ सय ४० एकेडेमिक कार्यक्रम सञ्चालन गरिरहेको छ। विसं २०१६ मा स्थापित सो विश्वविद्यालयमा हाल ४ लाख ८२ हजार ५ सय ४१ विद्यार्थी अध्ययनरत छन् । तीमध्ये ५२ प्रतिशत छात्रा छन्।

दीक्षान्त समारोहमा व्यवस्थापन संकायबाट २८ हजार ४ सय ३८, शिक्षाशास्त्र संकायबाट १८ हजार १ सय ६३, मानविकी तथा सामाजिकशास्त्र संकायबाट १५ हजार १८, कानुन संकायबाट २ हजार ३ सय ६३, विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट ७ हजार २ सय ७८, इन्जिनियरिङ अध्ययन संस्थानबाट २ हजार ८ सय ८३, चिकित्साशास्त्र अध्ययन संस्थानबाट २ हजार १०, कृषि र पशु विज्ञान अध्ययन संस्थानबाट ६ सय ५०, वन विज्ञान अध्ययन संस्थानबाट ३ सय विद्यार्थी दीक्षित भएका छन्।

समारोहमा मानविकी सङकायअन्तर्गत स्नातकोत्तर तहतर्फ अर्थशास्त्र विषयमा सर्वप्रथम हुने कपिल पौडेलले तीन पदक तथा पुरस्कार पाउनुभएको छ।

विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा अर्थशास्त्र केन्द्रीय विभागका पौडेलले ३ दशमलव ७७जीपीए ल्याउँदै तारापद चौधरी पदक, खगेन्द्रमान सिंह प्रधान पदक र चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार पाउनुभएको थियो ।

पढाइमा अब्बल बन्नुस् : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले त्रिविको ४९औं दीक्षान्त समारोहमा सम्बोधन गर्दै विद्यार्थीहरूलाई पढाइमा अब्बल हुन सुझाव दिनुभयो। उहाँले भन्नुभयो– ‘एकातिर तपाईहरूलाई पढाइमा अब्बल बन्नुपर्ने दबाब अभिभावक र समाजबाट परेको हुन्छ भने अर्कोतर्फ आकर्षक रोजगारी पाइन्छ कि पाइन्न भन्ने चिन्ताले तपाईंहरूमा मानसिक तनाव पर्ने गर्दछ। यस्तो अवस्थाको अन्त्य अत्यन्तै आवश्यक छ भन्ने मलाई लाग्दछ।’

बुद्ध र सीताको पवित्र भूमिलाई विश्वमा चिनाउने अवसर विद्यार्थीमाझ आएको बताउँदै उहाँले विश्वको बढ्दो तापमान र जलवायु परिवर्तनको विषयमा पनि विद्यार्थीको चासो र चिन्ताको अपेक्षा राखेको बताउनुभयो।

नेपालको अन्तर्राष्ट्रिय पहिचानको रूपमा रहेको हाम्रो सभ्यताको प्रतीक हिमशिखर र सगरमाथा कालो पहाडका रूपमा परिणत गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

दीक्षित विद्यार्थीले प्राप्त गरेको ज्ञान, सीप र प्रविधि राष्ट्र निर्माणका लागि उपयोगी हुने जिकिर गर्दै उहाँले सक्षम र सबल राष्ट्र निर्माणका लागि दीक्षित विद्यार्थीको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो।

भौगोलिक, सांस्कृतिक र जातीय विविधतायुक्त हाम्रो नेपाली समाजको एकताका लागि यो अत्यन्तै महत्वपूर्ण हो भन्ने बुझ्न विद्यार्थीलाई आग्रह गर्दै राष्ट्रपति पौडेलले दीक्षित भएका विद्यार्थीको सफलताको शुभकामना दिँदै थप प्रगतिको कामना गर्नुभयो।

त्रिविमा भागबण्डा हुँदैन : कुलपति प्रचण्ड

त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयमा भागबण्डा नहुने आश्वासन दिनुभएको छ। त्रिविको ४९ औं दीक्षान्त समारोहमा बोल्दै उहाँले योग्य व्यक्तिलाई पदाधिकारी नियुक्ति गर्ने बताउनुभयो ।

कार्तिक १८ अघिल्ला उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाका कार्यकाल सकिएपछि त्रिविमा उपकुलपति रिक्त छ। त्रिविको नियमअनुसार शिक्षाध्यक्ष प्राडा शिवलाल भुसाललाई ३ महिनासम्मका लागि उपकुलपति नियुक्ति गरिएको छ। त्यसपछि त्रिविमा उपकुलपति पद रिक्त हुन्छ।

कुलपति प्रचण्डले राजनीतिक दलको भागबण्डाका कारण विश्वविद्यालय शिक्षा ध्वस्त भएको आरोप लागिरहेको जिकिर गर्दै नयाँ उपकुलपतिमा दलगत भागबण्डा नगर्ने बताउनुभयो।

उहाँले भन्नुभयो– ‘यसपटक विश्वविद्यालयमा राजनीतिक भागबण्डाका आधारमा नियुक्ति हुँदैन, योग्य व्यक्तिमध्ये मेरिटका आधारमा योग्य व्यक्ति नियुक्त गरिन्छ।’

प्रतिक्रिया दिनुहोस्